बिर्तामोड । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मानव बेचबिखन न्यूनिकरणका लागि सरोकारवालाको भूमिका विषयक १ दिने गोष्ठी सम्पन्न भएको छ ।
नारी सञ्चार गृह झापाको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा आयोजित गोष्ठीमा बेचविखन हुने कारण, बेचविखन ओसार–पसारमा संलग्न हुन सक्ने संभावित व्यक्ति, बेचविखन गर्ने तरिका, अनुसन्धान गर्दा ध्यान दिनुपर्ने कुराहरु, न्यूनिकरणका लागि सरोकारवालाको भूमिका, कानूनी व्यवस्था लगायतका विषयमा प्रहरी नायव उपरिक्षक तथा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्यले सहजीकरण गर्नु भएको थियो ।
टोल विकास संस्थाका प्रमुख तथा पदाधिकारी, नगर क्षेत्रभित्रका विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन विर्तामोड नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पवित्रा महतारा प्रसाईले गर्नुभएको थियो ।

नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रसाईले मानव बेचविखन न्यूनिकरणमा सबैको सहयोग उत्तिकै आवश्यक रहेको बताउँदै सभ्य समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
समाजको सहयोगबाट मात्रै अपराध न्यूनिकरण गर्न प्रहरी प्रशासन सफल हुने उल्लेख गर्दै प्रमुख अतिथि प्रसाईले राज्यलाई जवाफदेहि बनाउन नागरिकले पनि समाजभित्र लुकेका अपराधजन्य घटनाको निगरानी गर्नु पर्ने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले नेपालबाट भारतका कोठीमा पुर्याउनुलाई मात्र मानव बेचविखन नबुझ्न सुझाउँदै मुलुकभित्रै र खाडी मुलुकहरुमा कानूनी प्रावधान विना नै पुर्याइने घटना तर्फपनि समाजको ध्यान मोडिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा विर्तामोड नगरपालिका वडा नंं–६ का महिला वडा सदस्य पवित्रा ढुङ्गाना, एबीसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौला, टोल विकास संस्थाका तर्फबाट बासुदेव संग्रौला, महिला सुरक्षा दबाब समूहका अध्यक्ष शारदा रिजाल लगायतले आ–आफ्ना धारणा राख्दै मानव बेचविखन जस्तो जधन्य अपराध न्यूनिकरणका लागि समाजका सचेत व्यक्तिले गतिविधिलाई निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।
नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहालले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रममा निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन रेजिना गौतमले गर्नुभएको थियो ।

































































































