झापा २९ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अबको १५/२० दिनभित्र पार्टीलाई पुर्नव्यवस्थित गरेर नयाँ गतिका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले पार्टीलाई पुर्नव्यवस्थित गरेर चुनावमा लाग्नुपर्ने बताए । उनले भने–‘पार्टी नेतृत्वको तर्फबाट अब सबै ठाउँका कमिटी पुर्नव्यवस्थित गर्नुपर्छ र नयाँ गतिका साथ अघि बढ्नु पर्छ हामी गर्न सक्छौं, हामी चुनाव जित्छौं, प्रतिकुलताका अवस्थालाई अनुकुलतामा बदल्न सक्छौं ।’
कार्यक्रममा बोल्दै पोखरेलले प्रचण्डको तरङ्गित हुने र माधव नेपालको कुण्ठा पाल्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको बताए । पार्टीभित्र मिल्नुपर्छ भन्ने कुरा भावनात्मक कुरा भएको बताउँदै पोखरेलले भने–‘जुन ढंगले कुरो टुटिसकेको छ, त्यो ढंङ्गले कोशिस गरियो भने पार्टी बन्दैन, ती भावनात्मक कुराहरु मात्र हुन् ।’
नेता पोखरेलले सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने दावी गर्दै भने, ‘गल्ती स्वीकार गरेर आए माधव नेपाल र प्रचण्डले पनि सूर्य चिन्हबाट टिकट पाउनु हुन्छ । त्यो सम्भावना अझै जीवित छ ।’
प्रचण्डसँग मिलेर राजनीतिक रुपमा केपी ओलीलाई सिध्याउने दाउपेचमा माधव नेपाल लागेका कारण संसद विघटनको बाध्यकारी अवस्था सिर्जना भएको नेता पोखरेलले बताए ।
जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षता तथा शिव ढुङ्गेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थायी कमिटि सदस्य मणि थापा लगायतले बोलेका थिए ।
पार्टी पुर्नव्यवस्थित गरेर चुनावमा लागौं

































































































