झापा । क्षयरोग उपचारका लागि सरकारले बार्षिक १५ करोड भन्दा बढी रकम खर्चदै आएको छ । क्षयरोगीलाई निःशुल्क सेवा तथा औषधिवितरण गरेवापत उक्त रकम खर्च हुने सरकारी तथ्याङ्कले देखाउँछ ।
तथापि १३ हजार क्षयरोगी अझै पनि उपचारको दायरा बाहिर रहेका छन् । सरकारले २०३० सम्ममा नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्य राखेपनि वर्षेनी ४५ हजार क्षयरोगका नयाँ विरामी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नयाँ र पुराना गरी २८ हजार विरामी उपचारको दायरा बाहिर छन् भने नयाँ र पुरानासहित ६० हजार क्षयरोगका बिरामी छन् ।
गत आर्थिक वर्ष २०७४/०७५ मा क्षयरोगको शंका गरी परीक्षण गरिएका एकलाख ९६ हजार ३६२ जना मध्ये ३२ हजार ४७४ जनामा क्षयरोग देखिएको थियो।
क्षयरोगका प्रकार
क्षयरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिंदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)–का अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । नेपालका अधिकांस क्षयरोगको जोखिममा रहेको केन्द्रका निर्देशक भीमसिंह तिंकरीले बताए । उनले भने,‘हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छौँ, रोग छैन भन्ने अवस्था रहँदैन ।’
निस्क्रिय र सक्रिय क्षयरोगका लक्षण

चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको संक्रमित हुनसक्छ ।
नेपालमा ६० वर्ष पहिले देखि नै क्षयरोग निवारणका कार्यक्रम लागू भएपनि सरकारले खास उपलब्धि हासिल गरेको देखिंदैन । चालू आवमा क्षयरोग निवारण कार्यक्रमका लागि ७० करोड रकम विनियोजन गरिएको छ । यसअघि क्षयरोग निवारणका लागि सरकारी तथा दातृ निकायबाट कति रकम खर्च भयो भन्ने तथ्याङ्क छैन ।
डब्लुएचओका अनुसार अनुसार नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ । कूल क्षयरोगीमध्ये १५ देखि २० प्रतिशतसम्म निजी क्षेत्रका अस्पतालमा सेवा लिन जाने विरामीको तथ्याङ्क सरकारसंग नभएको डब्लुएचओले जनाएको छ ।
क्षयरोग संक्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ । उपचारमा आउन नसकेका÷नचाहेका १३ हजार बिरामीको दायरामा ल्याउनु सरकारलाई प्रमुख चुनौति देखिएको छ ।
हाल मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत चार हजार ३२३ उपचार केन्द्रबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी विधि (डट्स) उपचार सेवा, क्षयरोग पत्ता लगाउन खकार परीक्षण गर्न ६०४ प्रयोगशाला, ५६ जीन एक्सपर्ट केन्द्र सञ्चालन गरिराखेको छ ।
क्षयरोगको २० महीना लामो उपचार अवधिलाई घटाएर ९–१२ महीनाको नमूना उपचार सेवा शुरु गरिएको निर्देशक चिकित्सक तिंकरीले बताए । उनका अनुसार उक्त परीक्षण सफल भए देशभर कार्यक्रम लागू हुनेछ ।
केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालमा पहिलोपटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लष्टर)मा ५७,६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित सो रोगको स्थलगत अध्यययनको ८० प्रतिशत काम पूरा भएको केन्द्रले जनाएको छ ।
चार हजार ३२१ उपचार केन्द्र, ९६ वटा सहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गर्ने गरिंदै आएको छ भने औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र मार्फत सेवा उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ । सन् २०३० सम्म नेपाललाई क्षयरोग उन्मुलनको लक्ष्य राखेको छ ।

































































































