झापा / भिख मागेर जसोतसो बनाएको घाम पानी छेक्न सक्ने छाप्रो पनि कनकाई नदीमा आएको बाढीले बगाएर लगेपछि घरबार विहीन बनेका शिवसताक्षीका एक परिवारको बिचल्ली भएको छ ।
बस्नका लागि घर पाउन सकेका छैनन् भने घर बनाउनका लागि जग्गा नहुँदा उनीहरुको पुर्नस्थापनाको टुङ्गो लाग्न सकेका छैन । केही दाताले उनलाई यस्तो आश्वासन दिएकी ‘स्थानीय सरकारले तपार्ईलाई बस्नका लागि जग्गा दिन्छ भने, हामी घर बनाइ दिन्छौ ।’ तर बाढीले बिचल्लीमा परेकी शिवसाताक्षी नगरपालिका वडा नंं १० की तारा शेर्मासंग स्थानीय सरकार समक्ष यति कुरा राख्ने क्षमता छैन । उनी भन्छिन, ‘मैले कसैलाई चिनेको छैन, म कसरी जाँउ ?, कसलाई भेटौ र मेरा कुरा राखौ ।’
घरबारै गुमाएर खुला आकासमुनि रातदिन विताउन बाध्य शेर्माको कथा यतिबेला सतहमा आउन थालेको छ । जस्का कारण झापाको भद्रपुरस्थित एकल महिलाका लागि मानव अधिकार र एविसी नेपाल नामक सामाजिक संस्थाका अगुवाले पिडितका अस्थाई छाप्रामै लगेर खाद्य र गैरखाद्यका बस्तुका सामग्री राहत दिए । लत्ता कपडा, खाद्यन्न लगायतका राहत पाउदा उनको बाहिरी मन खुशी नै देखिएपनि भित्री मन भने रोइरहेको प्रष्ट झल्किन्थ्यो ।

उनका ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपले दाताले खानेकुरा ल्याएको थाहा पाएपछि खानलाई हाँप र झाँप गरे । हुन पनि २ दिन देखि उनको अस्थाई छाप्रामा खानेकुरा नभएकै कारण आगो बलेको थिएन । राहत लिएर ताराका छाप्रामा पुग्दा उनका अढाई बर्षका छोरा भोकले रोइरहेका थिए । राहत लिएर गएको टोलीले सोध्यो ‘किन रोएको नानी ?’ ताराकी जेठी छोरी समृद्धीले हतपत जवाफ दिइन ‘खान नपाएर ।’ मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष तथा केन्द्रिय सचिव रेखा अधिकारीले झोलाबाट झिकेर बिष्कुट दिएपछि उनी रुन छोडे ।
राहत दिन आएको टोलीमा एबिसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, इन्दिरा न्यौपाने र देवीका बस्नेत पनि थिए । उनीहरुले तारा शेर्माका परिवारलाई खाद्यन्न लगायत लत्ता कपडा दिए । बाढीबाट विस्थापित अन्य परिवारलाई पनि साउनमा लगाउने हरियो, पहेलो चुरा दिए भने सुत्केरीलाई न्यानो कपडा र केटाकेटीलाई फलफुल दिए ।
‘खानेकुरा त दाताले ल्याईदिनुहुन्छ, तर अब कहाँ घर बनाएर बस्नु ?’ कनकाई नदिको बीच तिर देखाउँदै ताराले भनिन्, ‘मेरो घर भएको ठाँउमा कनकाई नदिको बाढी छ । साँझ परेपछि छोरा छोरीले न्यानो घर खोज्छन् । यस्तो विपतमा म के गर्रौ ?’ तारा शेर्माका श्रीमान्को छ वर्ष अघि दम र प्यारालाईसिस रोगका कारण मृत्यु भयो । त्यसपछि छोराछोरी हुर्काउने र पढाउने जिम्मा ताराको काँधमा आयो ।
पाँचथरको माङजाबुङबाट बसाईं आएकै साल श्रीमान्ले छोडेर गएपछि बिहान बेलुकाको छाक टार्न उनलाई मागि खानुपर्ने बाध्यता पर्यो । यतिबेला पनि कनकाई धाममा पूजा अर्चनाका लागि आएका पुजारीबाट उनले चामल, रुपैयाँ मागेर जीवन धान्ने गरेकी छन् । लकडाउन यता मागि खान पनि बन्द भएको छ । नदिमा पूजा गर्न पुजारी नआएपछि त्यसको असर उनको भान्सा कोठामा पर्यो । ‘तारा बहिनीको सारै ठुलो समस्या छ । कसैले उनको पुर्नस्थापना गरे उनका छोराछोरी हुर्किएर यतिबेला लगाएको गुन पछि तिर्ने थिए होला ।’ उनलाई यतिबेला हेरचाह गर्ने स्थानीय पदमबहादुर श्रेष्ठ हुन् । उनी भन्छन, ‘म पनि बाढीबाट विस्पापित नै हुँ तर, तारा बहिनीको समस्या असामान्य छ ।’
बाढीले साविकको ठाउँबाट लालाबाला सहित तारालाई खेदाएपछि नेपाल रेडक्रस सोसाइटी झापाले त्रिपाल दिएर स्थानीयले अस्थाइ छाप्रा बनाएपछि त्यसैमा उनी बसेकी छन् । ‘सरकारी राहत छैन । टाढाबाट आएर चामल, लगाउने लुगा, रुपैयाँ दिनुभयो । नजिकको सरकारले हामी जस्ता बाढी पिडितको वास्ता गरेको छैन ।’ उनले भनिन, ‘सरकारले सानो घर अट्ने जग्गा दिए कसैले घर बनाइदिन्थे । मेरा छोराछोरीलाई त्यै न्यानो घरमा राखेर हुर्काउथे । पछि ठुला भएर कमाए भने अहिलेको गुन तिर्थे ।’
तारा शेर्माको परिवार कनकाई नदीले विस्थापित बनाएका अन्य परिवारको तुलनामा दयनीय छ । उनको व्यथा सुन्ने जो कोहिको पनि आङ जिरिङ्ग हुन्छ । उनी भन्छिन, ‘कमाउला, खाउला, छोरा छोरीलाई राम्रो शिक्षा दिउला भन्ने सोचेका थियौं । दैवले लोग्नेलाई चुढेर लग्यो । म एउटी अवलाले कतिदिन सम्म भिख मागेर जिवन चलाउनु ? जीवनदेखि नै दिक्क मान्न थालेकी ताराले भनिन्, ‘कोही दानवीर दाता हुनुहुन्छ भने मेरा छोराछोरीको अनुहार हेरिदिएर भएपनि सहयोग गरिदिनुहोस् ।’

































































































