भद्रपुर ३१ असार । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले बिहीबारदेखि शुरु हुने आर्थिक वर्ष ०७७/७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एकसय रूपैयाँको बजेट बहुमतले पारित गरेको छ ।
गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँसभा परिषद सदस्यहरूको बुधवार बसेको बन्द सत्रको बहुमतले बजेट पारित गर्दै अन्त्य भएको हो ।
बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् । उपाध्यक्ष राजवंशीले सार्वजानिक गरेको प्रतिवेदन अनुसार पूँजीगत तर्फ २५ करोड ६६ लाख १८ हजार सहित ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सम्पन्न भएको सभा सुरू हुने वित्तिकै ४ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफ्ना वडामा आउने ६० लाख बजेटबाट १० लाखमा झारिएको भन्दै सभा बहिष्कार गरेका थिए ।
वडा नम्बर २ का वडाध्यक्ष मेखबहादुर भट्टराइले बजेट पेश गर्न गाउँपालिका उपाध्यक्ष रोस्टममा जान लाग्दा कार्यपालिका बैठकमा भएको सहमति विपरित अध्यक्ष, उपाध्यक्षले बजेट तयार गरेको प्रति आपत्ति जनाउँदै विपक्षी दल भनेरै विभेद गरेको ठहर गर्दै गाउँसभा बहिस्कारको घोषणा गर्नुभएको गियो । गाउँसभा बहिष्कार गर्ने वडाध्यक्षहरूमा ४ नम्वरका वडाध्यक्ष प्रमानन्दसिंह रावजंशी, ६ नम्वर वडाध्यक्ष कुलबहादुर कार्की र ७ नम्वरका वडाध्यक्ष भरतकुमार राजवंशी रहेका छन् । त्यसैगरी नेपाली काँग्रेस र नेकपाबाट विजयी वडा सदस्यहरूले पनि राप्रपामय वजेट बनाएको भन्दै वडाध्यक्षहरूसितै बहिष्कार गरेका थिए ।
बजेट बहिष्कारबारे प्रष्ट्याउँदै वडा नम्वर ६ का अध्यक्ष कुलबहादुरले कार्की कार्यपालिका बैठकमा एक करोड वजेट मागिएकोमा प्रत्येक वडालाई ६० लाख दिने सहमति तोडेर अध्यक्ष, उपाध्यक्षले वजेट पारित गर्ने बेला १० लाखमा झारो टारेको आरोप लगाउँनु भयो ।
यस्तै वडा नम्वर ४ का अध्यक्ष प्रमानन्दसिंह राजवंशी गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई जन्म दर्ता, मृत्यु दर्ता तथा नागरिकताको सिफारिस गर्ने मात्र बनाएर विकास विहिन भूमिकामा ल्याउन खोजेको आरोप लगाउँदै वडाको सन्तुलित विकासका लागि टोल टोलबाट ६० लाखका योजना वडा सदस्य सहित वडाध्यक्षहरूले तय गरेको भए पनि अन्तिममा वजेट कटौती गरेपछि बहिष्कारको विकल्प नभएको बताउनु भयो ।
यता गाउँपालिका अध्यक्ष अञ्जार आलम भने अघिल्लो वर्ष दीर्घकालिन आयोजना अन्र्तगत भएको १० करोड खर्च वापतको रकम तिनुपर्ने बाध्यताले वडामा बजेट कटौती भएको जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार, तथा संघीय सरकारले दिने भनेको अनुदान घटेपछि सोही अनुदानका आशमा निर्माण गरिएका आयोजनाको रकम यस वर्ष तिनुपर्ने बाध्यता आइ परेकाले वडामा बजेट घटाउनु पर्ने बाध्यता परेको हो–आलमको प्रष्टोक्ति थियो ।
७ वडा वडा रहेको कचनकवलमा ४ र ७ नम्वर वडाध्यक्ष सहित ८ जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्ष सहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् । काँग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिष्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँसभाले बजेट पारित गर्न सफल भएको हो ।
कचनकवलमा ५३ करोड बढीको बजेट बहुमतबाट पारित : असन्तुष्टद्वारा बहिष्कार

































































































