झापा २८ असार । निरन्तरको बर्षातका कारण कनकाई नदीमा आएको बाढीका कारण अहिलेसम्ममा २९ घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
विस्थापितलाई उद्दार गरी सुरक्षित स्थानमा लाने काम भइरहेको बताइएको छ । कनकाई नदीको बाढीकै कारण झापा गौरीगञ्ज २ भाकुरमारी वस्ती कनकाई नदी पारीका ८ परिवारका केही सदस्य सम्पर्क विहिन भएको बताइएको छ । बाढी ठूलो आएको पूर्व सूचना पाएपछि विगतमा पनि नेपाल–भारत सिमानामा गएर बस्ने गरेका कारण अहिले पनि उनी त्यही गएको हुन सक्ने अनुमान गर्दै सुरक्षाकर्मीले उनीहरुको अवस्था बुझ्ने प्रयास भइरहेको गौरीगञ्ज गाउँपालिका वडा नं.–२ विपद व्यवस्थापन समितिका अग्नुप्रसाद राजवंशीले जानकारी दिनुभयो ।
विगत केही दिनदेखि निरन्तर परेको पानीका कारण नदीको बहाव बढेर खतराको लेवल पार गरेसंगै नदि आसपासका बस्ती डुवानमा परेका हुन् ।
विस्थापित हुनेमा शिवसताक्षी नगरपालिका–६ का ९ घर परिवार, गौरीगञ्ज–१ मा ३ परिवार र झापा गाउँपालिका वडा नं.–७ का १७ घर परिवारगरी अहिलेसम्ममा २९ परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका हरिशरण खड्काले जानकारी दिनुभयो ।
कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ । मेची, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, बनियानी लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ ।
कनकाई नदीको बाढीले २९ परिवार विस्थापित

































































































