माइधार २७ असार । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी नगरपालिका वडा नं.–१० का ४ परिवार विस्थापित भएका छन् ।
पूर्व पश्चिम राजमार्गको कनकाई माई पश्चिम उत्तरमा बस्दै आएका ४ परिवार विस्थापित भएपछि उनीहरुलाई उद्दारको कार्य भइरहेको शिवसताक्षी नगरपालिका वडा नं.–१० का वडाध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।
निरन्तरको वर्षातका कारण कनकाई नदीमा आएको बाढी पश्चिमतर्फ ढल्किएपछि सो क्षेत्रमा बसोबास गर्दै आएका प्रेम उप्रेती, तारा शेर्मा, दुर्गा ऋषीदेव र लालबहादुर मुसहरको परिवार विस्थापित भएको बताइएको छ । टोलमा बस्ने ५ परिवार यसअघि नै विस्थापित भएका थिए ।
उनीहरुको उद्दारमा शसस्त्र प्रहरी गण लखनपुरको टोलीसहित नेपाल प्रहरी, स्थानीयबासीले उद्दार गरेका छन् ।
निरन्तर आएको बाढीका कारण झापाका विभिन्न स्थानमा उत्तर–दक्षिण भएर बग्ने नदीमा आएको बाढीका कारण नदि किनार नजिक बस्ने स्थानीय जोखिम बढेर गएको छ । निन्दा खोलामा आएको बाढीले रामघाट दक्षिणतर्फ बगाएको स्थानीयले बताएका छन् । पानी निरन्तर परिरहेका कारण नदीको बहाव पनि निरन्तर बढीरहेको छ । भद्रपुर नगरपालिका वडा नं.–५ को पूर्वी भाग डुवानमा छ भने गौरीगञ्ज गाउँपालिकाको कुञ्जीवारी बजार र गौरादह–९ को सीमाको कमल खोलाको झोलुङ्गे पुल जोखिमा परेको बताइएको छ ।
कनकाई माइमा आएको बाढीले ४ घर विस्थापित



















