झापा २६ असार । लगातारको वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठूलो क्षति भएको छ । बाढी पहिरोमा परी शुक्रबार मात्रै २४ जनाले ज्यान गुमाएका छन् भने ३७ जना वेपत्ता छन् ।
पहिरोमा परी कास्कीका विभिन्न ठाउँमा सात जनाको ज्यान गएको छ भने आठ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
यस्तै म्याग्दीको विभिन्न ठाउँमा गरी तीन जनाको ज्यान गएको छ भने ३१ जना हराइरहेका प्रहरीले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरोले घर बगाउँदा सात जनाको ज्यान गएको छ भने पाँच जना हराइरहेका छन् । बारेकोटकै धुमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ, एक जना हराइरहेका छन् ।
यस्तै लमजुङमा तीन जना, रुकुम पश्चिममा दुई जना र गुल्मीमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । विपद् भएका ठाउँमा उद्धार तथा खोजीको काम भइरहेको सरकारले जनाएको छ । सिन्धुपाल्चोकमा बिहीबार बाढी र पहिरोमा परी हराइरहेका २१ जनाको शुक्रबार पनि खोजी भइरहेको बताइएको छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसम बदली हुने जनाएको छ । गण्डकी प्रदेशमा भने धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले यही बिहीबारदेखि सक्रिय मनसुन आउँदो सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको महाशाखाले जनाएको छ ।
बाढी र पहिरोमा परी २४ जनाले ज्यान गुमाए, ३७ वेपत्ता



















