विर्तामोड १५ असार । आगामी साउनबाट झापाको कनकाईमा सञ्चालनमा ल्याउने तयारी गरिएको पिसिआर ल्याव निर्माणका लागि सोमबार एकैदिन पाँच लाख ३६ हजार दुई सय ८२ रुपैयाँ सहयोग जुटेको छ ।
एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा पिसिआर ल्याव बनाउन लागिएको हो ।
झापामा समेत कोरोनाको बढ्दो प्रकोप न्युनिकरण तथा झापाबासीको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर पिसिआर ल्याव बनाउन लागिएको हो ।
सहारा नेपालसहित अढाई दर्जन संस्थाको साझेदारीमा अघि बढेको एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियान र कनकाई नगरपालिकाको संयुक्त लगानीमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर ल्याव सञ्चालन हुनेछ । ल्यावका लागि हालसम्म ९० लाख रुपैयाँभन्दा बढी रकम जुटेको एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।
विभिन्न संस्था तथा दाताहरुले सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
समाजसेवी एवम् रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरका अध्यक्ष गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको संस्था मिसन रिबिल्ड नेपालको तर्फबाट दुई लाख रुपैयाँको चेक, युवा उद्योगी तथा व्यवसायी प्रदिप मित्तलले एक लाख एक हजार रुपैयाँ,

मेचीनगर–७ इँटाभट्टा निवासी गोमादेवी मैनाली र मोहनकुमार भेटवालले आफ्ना पिता÷ससुरा खड्गप्रसाद र माता गंगादेवी मैनालीको स्मृतिमा ७१ हजार एक सय ७१ रुपैयाँ , आफ्नी माता भक्तिमाया ओडारीको स्मृतिमा बिर्तामोड निवासी सुरेन्द्र–पुनम ओडारी, युवराज–रोजी ओडारी, गणेश–गितु ओडारीले ५१ हजार, बिर्तामोड–२ चैतुबारी निवासी ९१ वर्षीय विष्णुप्रसाद ओलीले ५१ हजार एक सय ११ रुपैयाँ, वन पैदावार उद्योग व्यवसायी संघ झापाले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । बन पैदावार संघको तर्फबाट अध्यक्ष गोपाल खत्री, सचिव पुष्पराज दाहाल र कार्यालय सचिव योगेन्द्र सुवेदीले उक्त रकम हस्तान्तरण गरेका थिए । त्यस्तै डिएण्डबी स्टोर्स बिर्तामोडका सञ्चालक एवम् लायन्स क्लव अफ बिर्तामोड सिटीका तृतीय उपाध्यक्ष दुर्गा थपलियाले ११ हजार रुपैयाँ प्रदान गरेका छन् । अभियानका संयोजक गिरी तथा सदस्यहरुलाई दाताहरुले रकम प्रदान गरेका थिए ।
अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।
कार्यक्रममा अभियानमा साझेदार संस्थाका प्रतिनिधिहरु मदनगोपाल सुब्बा, नवीन कोइराला, गजेन्द्र पौडेल, कुमारमणि पोखरेल, सजेश शिवाकोटी, निर्मल कुमार भट्टराई , प्रकाश शिवाकोटी, मनोज बुढाथोकी, मिजास पोखरेल, शिव कँडेल, प्रविण खड्का, अर्जुन चुडाल, गोपाल ओली, सञ्जिव घिमिरे लगायतको सहभागिता रहेको थियो ।
सरकार–समुदाय–सहकारीबीच साझेदारीमा साउन १ गतेबाट सञ्चालनमा ल्याइने ल्यावको सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बैठकको निर्णय अनुसार कनकाईको कोटीहोमस्थित समर्पण भवनमा एकका लागि एक अभियानको अगुवाईमा सरकारी मापदण्ड अनुसारको ल्याब स्थापना हुनेछ । मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी ल्याबका लागि अनुमति, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भने प्रदेश सरकारले लिने सहमति भइसकेको छ ।

































































































