
टाघनडुब्बा १३ असार । जनताको तटबन्धन अन्तरगत माइ खोलामा बाँधिएको अस्थायी बाँध बाढीले कटान गरेपछि स्थानीयबासी त्रासमा छन् ।
माइखोलाले धार परिवर्तन गर्दा कच्ची रुपमा बाँधिएको तटबन्धन बाढीले कटान गर्न थालेपछि जोखिम बढेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनु भयो ।
बाँध फुटेर बस्तीमा पसेमा गाउँपालिका ४ वटा वडामा ठूलो क्षति पुग्ने बताउनु भयो । बाँध फुटेमा झापा गाउँपालिकाका वडा नं.–१,२,३ र ७ नम्बर वडा प्रभावित हुने साहले बताउनु भयो । २ वर्ष अघि बाँध बाँधिएपछि सो क्षेत्रका जनता सुरक्षित थिए । पश्चिमतर्फबाट बगेको माइखोलाले धार परिवर्तन गरी पूर्वतर्फ बगेपछि बाँध कटान भएको हो ।

२२५० मिटर लामो टप्पु र जनता टोलमा रहेको अस्थायी बाँध मध्ये लगभग २ सयदेखि ३ सय मिटरमा समस्या आएको जनताको तटबन्धन कार्यक्रम गैंडेका इन्जिनियर यादव बरालले बताउनु भयो । उक्त बाँध २ वर्षअघि माटोको मात्रै प्रयोग गरेर बनाइएको थियो ।
इन्जिनियर बरालले भन्नुभयो–‘थोरै पैसामा धेरै काम गर्ने हुँदा अस्थायी रुपमा बाँधिएको बाँध कटान हुन थालेको हो ।’ उहाँका अनुसार ढुङ्गा र तारजाली प्रयोग गरेर १ सय मिटर बाँध बाँधिने खर्चले १ किलोमिटर अस्थायी बाँध बाँध्न पुग्छ । मौसमले साथ दिए भोलीसम्ममा आपत्कालीन रोकथाम सम्पन्न हुने बरालले जानकारी दिनुभयो ।
यसअघि पश्चिम भएर बगेको माइ खोला यसपाली अचानक पूर्वतर्फ फर्किएपछि माटोले बनाइएको बाँध कटान भएको बताइएको छ । बाढीले कटान गरेको ठाउँमा शुक्रबारदेखि नै स्काभेटरको प्रयोग गरेर रोकथामको कार्य शुरु गरिएको छ । आपत्कालीन रोकथामका लागि काम भइरहेको छ, सकेसम्म प्रयास रहन्छ ।
बाँधमा थप क्षति हुन नदिन स्थानिय जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहभागितामा मर्मत सम्भार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तटबन्धनमा माईखोलाको भागमा जेसिबीको प्रयोग गरी बाढीबाट हुन सक्ने थप क्षतीलाई रोकथाम गर्ने कार्य भइरहेको जनाइएको छ ।