
झापा १३ असार । फट्याङ्ग्रा वर्गमा पर्ने सलह किरा शनिवार नेपालमा पनि प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका प्रदेश दुईका तीन जिल्लामा सलह प्रवेश गरेको कृषि मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमसख सहदेव हुमागाँईले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतसंग सिमाना जोडिएका बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झुण्ड नेपाल प्रवेश गरेको हो ।
‘पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्र र बाराको डुमरवानासहित दुई स्थान शनिबार (आज) बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको हुमागाईँले बताउनु भयो ।
प्रारम्भिक चरणमा भएकाले कुन प्रकारको सलह भन्ने अध्ययन गरेपछि मात्रै थाहा हुने बताउँदै प्रमुख हुमागाँईले ती सलह आप्रवासी हुन सक्ने अनुमान गर्नुभएको छ । उहाँका अनुसार
नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको उहाँले ‘पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने अड्कल लगाएका छन् ।
केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । सो कार्यदलले बनाएको कार्ययोजना सलह नियन्त्रणका लागि काम हुने बताइएको छ ।
समूहमा बस्ने सलहले कृषि बालीमा अमेरिकी फौजी किरालेभन्दा बढी क्षति पुर्याउँछ। करोडौंको संख्यामा सँगसँगै हिड्ने यो किराले हरियो वनस्पतीको पात र डाँठसमेत छिटोछिटो खाएर नष्ट गर्छ।
यो किराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्। नेपाल लगायत संसारका सबै भूभागमा वातावरणीय परिवर्तन हुँदा न्यानो बढेकोले यो किराको जीवनचक्रमा परिवर्तन आएको विज्ञहरु बताउँछन्।
अचम्मको कुरा त के छ भने यसले बिरुवाका पातहरू खाएर सकिसकेपछि बिरुवाको हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्छ । त्यसैले यो फट्याङ्ग्रा अन्य किराभन्दा बढी क्षति गर्ने खालको हुन्छ । यो किरा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ ।
संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांक अनुसार साधारणतया यो किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलहको लगभग ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्ने जनाएको छ ।



















