
अर्जुनधारा ११ असार । अर्जुनधारा नगरपालिकाले सामाजिक सुरक्षा भत्ताबाहेक अनुमानित ७९ करोड ६३ लाख ४१ हजार बराबरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरपालिकाद्वारा बुधबार पर्यटकीय क्षेत्र सालबारीमा आयोजित नगरसभामा नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमध्ये आन्तरिक आयबाट पाँच करोड ५० लाख, नेपाल सरकारबाट सशर्त अनुदानबाट २४ करोड ५५ लाख, वित्तीय समानीकरणबाट १६ करोड ७४ लाख, विशेष अनुदानबाट २ करोड र समपुरक अनुदानबाट ८० लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत सशर्त अनुदान १ करोड, वित्तिय समानीकरणबाट ७७ लाख ४१ हजार, विशेष अनुदानबाट २ करोड र समपुरक अनुदानबाट १ करोड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी नेपाल सरकारको राजश्व बाँडफाँड अन्र्तगत मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट १० करोड २० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँड अन्तरगत प्राकृतिक स्रोत बाँडफाँडबाट ४ करोड, यातायात कर बाँडफाँडबाट १ करोड २६ लाख र घरजग्गा रजिष्ट्रेशनबाट ३ करोड, विभिन्न साझेदारी निकायहरु अन्र्तगत सडक बोर्ड नेपालबाट ३५ लाख, नेपाल पर्यटन बोर्डबाट २५ लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट ५० लाख, खेलकुद मन्त्रालय वा अन्र्तगत निकायबाट ६० लाख र तराई मधेस सम्वृद्धि कार्यक्रमबाट ६२ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दुई करोड ३४ लाख, निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दुई करोड ११ लाख र स्थानिय तह क्षमता विकास कार्यक्रमबाट चार लाख प्राप्त गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै चालु आर्थिक वर्ष ०७६÷०७७को लागि १ अर्ब ५ लाख ९० हजार बराबरको बजेट प्रक्षेपण गरिएकोमा आन्तरिक आय, राजश्व बाँडफाँड र संघीय अनुदान अपेक्षितरुपमा प्राप्त हुन नसकेको कारण उक्त बजेटमा संशोधन गरि सामाजिक सुरक्षा भत्ता बाहेक ७६ करोड नौ लाख ७३ हजार रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा चालु आर्थिक वर्षमा स्वीकृत ६२ वटा नगरस्तरिय योजनामध्ये ११ वटा र ३४१ वटा वडास्तरिय योजनामध्ये २३० वटा सम्पन्न भएको नगर तथा वडास्तरिय योजनाहरुको भौतिक प्रगति ७०.९६ प्रतिशत रहेको जनाइएको छ ।