
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेका छन् । ट्वीटरसँगको व्यक्तिगत तनावलाई आफ्नो शक्तिसँग जोडेर आक्रामक बनेका ट्रम्पले आदेशमा हस्ताक्षर गरेका हुन् । ट्वीटरले आफ्ना केही ट्वीटमा तथ्य जाँच राखेपछि ट्रम्प रुष्ट भएका ट्रम्प एकपछि अर्को गर्दै सामाजिक सञ्जालप्रति कठोर बन्दै गएका हुन् ।
आफ्नो ट्वीटमा तथ्य जाँच राखेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका ट्रम्पले तत्काललाई उनीहरुले पाउँदै आएको केही कानूनी अधिकार कटौती गरेका हुन् ।
कार्यकारी आदेश जारी भएसँर्ग अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ।
समालोचक तथा कानूनका विज्ञहरुले सामाजिक सञ्जालहरुको सुरक्षाका लागि रहँदै आएको वर्तमान कानूनी व्यवस्था परिवर्तनका लागि अमेरिकी संसद वा अदालती प्रणालीको सहभागिता अनिवार्य रहेको जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमाथि कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको वा सेन्सर गरेको अभियोग लगाउँदै आएका छन् । वाक स्वतन्त्रताको उल्लंघन भएको उनको अभियोग छ ।
गत मंगलबार साँझ उनको एक ट्वीटमा ट्वीटरले तथ्य जाँच सम्बन्धी नोटिफिकेशन राखेपछि बुधबार ट्रम्पले ट्वीट गरेर ठूलो कदम चाल्ने चेतावनी दिएका थिए । त्यसअघि उनले ट्वीटरले चुनावमा दखल दिन चाहेको आरोप लगाएका थिए ।
ट्रम्पले कम्युनिकेशन डिसेन्सी सम्बन्धी कानूनलाई स्पष्ट पार्नका लागि भन्दै कार्यकारी आदेश जारी गरेका हुन् । सो कानूनले फेसबुक, ट्वीटर, युट्यूब सहितका सामाजिक सञ्जाललाई केही अवस्थामा कानूनी सुरक्षा प्रदान गर्दै आएको छ ।
सो कानूनको धारा २३० अनुसार आफ्ना प्रयोगकर्ताबाट पोस्ट भएका सामग्रीका लागि सामाजिक सञ्जालहरु जिम्मेवार हुँदैनन् । तर सामाजिक हितका लागि ती सामग्रीलाई हटाउने वा चेतावनी राख्नेसहितका काम भने गर्न पाउँछन् ।
ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोस्ट भएका सामग्री सम्पादन गरेमा धारा २३० अन्तर्गतको नियम लागु नहुने उल्लेख छ

































































































