कोभिड–१९ कोरोना भाइरसका कारण विभिन्न वहानामा डेरावाललाई ननिकाल्न गृहमन्त्रालयले घरबेटीलाई निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै रोजगारी गुमेर आयस्रोत बन्द भएको संकटपूर्ण अवस्थामा विभिन्न बहानामा घरबेटीले निकाल्ने गरेको गुनासो आउन थालेपछि गृहमन्त्रालयले घरवेटीलाई यस्तो निर्देशन गरेको हो ।
बाटोमा अवरोध सिर्जना गरेर स्वास्थ्यकर्मीलाई अवरोध गर्ने, दूब्र्यवहार गर्ने, कोरोना भाइरसको परीक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने जस्ता घटनाप्रति गृहले ध्यानाकर्षण भएको जनाएको हो । कानून विपरित यस्ता गतिविधि नगर्न आग्रह गर्दै विज्ञप्तीमा कानून विपरित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिएको छ ।
गृहमन्त्रालयले यसअघि नै लकडाउन अवधिभरको भाडा छुट गर्न आग्रह गरेको थियो । सरकारले ज्याला मजदुरी गर्नेका लागि राहत कार्यक्रम ल्याएपनि अन्यको हकमा राहत तथा भाडा मिनाहाका विषयमा अहिलेसम्म केही बोलेको छैन ।
लकडाउन लम्बिदै जानु र कोरोना संक्रमणसमेत तीब्र बनिरहेको अवस्थामा घरबहालमा बसिरहेका मानिसहरुलाई बिना कारण ननिकाल्न गृहको विज्ञप्तिमा आग्रह गर्दै डेरावालासँग भाडा मागेर अफ्ठ्यारो नपार्न आग्रह गरिएको छ ।
लामो समयको लकडाउनका कारण अलपत्र परेका कतिपय डेरावाल भने हिडेरै वा कुनै सवारी साधनको सहयोगमा काठमाडौं उपत्यका बाहिर गएका छन् । उनीहरुलाई काठमाडौं महानगरभित्रका कतिपय वडा कार्यालयले लकडाउन अवधिभर काठमाडौं नआउन भन्न पनि घरबेटीलाई निर्देशन दिएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण लकडाउन शुरु भएको दुई महिना पुग्न लाग्दा कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ भने संक्रमण बढ्दो छ । संक्रमण न्युन गर्न विभिन्न स्थानीय निकाय र समुदायले आफ्नो क्षेत्र सिल गर्न थालेका छन्। आफ्नो क्षेत्रमा गरिएको सीमा सिल कार्यान्वयन गर्न कतिपय ठाउँमा बाटो छेकेर आवातजावत रोक्ने प्रयत्न समेत गरिएको छ।
लकडाउन नै भएपनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायत बाहिर निस्कन बाध्य छन् भने काम सकेर फर्कँदा घरभित्र छिर्न पाइने हो होइन भन्ने त्रास बढिरहेको सरोकारवाला बताउँछन्।
घरबेटीलाई गृहको निर्देशन–‘डेरावाल ननिकाल्नु्’

































































































