
झापा ३० बैशाख । भारतीय नागरिकले नेपाली जमिनमा लगाएको बाली सुरक्षित गर्ने सम्बन्धमा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसंग झापाको एक टोलीले छलफल गर्नुका साथै ध्यानाकर्षण गराएको छ ।
झापाबाट विराटनगर पुगेको प्रदेश सांसद बसन्त बानियाँसहितको टोलीले सिमावर्ती नेपाली जमिनमा भारतीय नागरिकले लगाएको बाली सुरक्षित रुपमा थन्क्याउने व्यवस्था गर्न ध्यानकर्षण गराउँदै आगामी दिनमा उक्त जमिनमा नेपालीले नै खेति गर्ने वातावरण बनाउने सम्बन्धमा छलफल भएको झापा क्षेत्र नं–३ प्रदेश (१) सांसद बानियाँले जानकारी दिनुभयो ।
वर्तमान अवस्थामा कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि सीमा क्षेत्रमा दुईदेशबीच आवागमन ठप्प भएपनि लगाएको बालीलाई सुरक्षित गर्न नसके आगामी दिनमा उत्पादनयोग्य भूमि बाँझो रहन सक्ने कुरालाई मध्यनजर गर्दै बाली सुरक्षितको वातावरण गर्न भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामबहादुर रानाको ध्यानाकर्षण गरिएको बताइएको छ ।
साथै भारतीय नागरिकले खेति गर्दै आएको नेपाली भूमिमा नेपालीलाई नै उत्पादनतर्फ लगाउने बारे पनि छलफल भएको सांसद बानियाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘कृषि उत्पादनमा राज्यले लगानी बढाउनुपर्ने, कृषि उत्पादनको सुरक्षा र बजारीकरण साथै ट्रेड मार्क, वितरण र प्रशोधनको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा छलफल भयो ।’
छलफलमा प्रदेश सांसद बानियाँ, प्रधानमन्त्रीका सल्लाहकार असारु राजवंशी, स्थानीय कर्मचारी संघ प्रदेश संयोजक डिल्ली ढकाल, लक्ष्मी गुरागाँईको सहभागीता रहेको थियो ।
दक्षिणी सीमा क्षेत्रको नेपाली नागरिकको स्वामित्वमा रहेको नेपाली भूभागमा भारतीय नागरिकले वर्षौंदेखि सिजनल खेति गर्दै आएका छन् । बाटोले सिमाना छुट्याएको नेपाल–भारतको सीमा क्षेत्र तथा त्यसभन्दा केही भित्रका गाउँमा पनि भारतीय नागरिकले अधियाँ, ठेक्का वा लिजमा लिएर एकहजार विगाहा भन्दा बढी जमिनमा खेति गर्दै आएको सांसद बानियाले बताउनु भयो । उहाँका अनुसार अहिले भारतीयले गर्दै आएको बाली थन्क्याउन नपाए यो पछिको बाली उनीहरुले नलगाउने र त्यसको असर नेपालीमा नै पर्ने देखिन्छ ।

































































































