
झापा २७ बैशाख । कोरोना संक्रमणको प्रभाव हरेक उत्पादनमा परेको छ । कृषकले उत्पादन गरेका तरकारी बारीमै कुहिंदा बजारका उपभोक्ता चर्को मूल्यको भार खेपिरहेका छन् । व्यवसायिक रुपमा उत्पादन गरिएको गौशालाको दूध विक्री नहुँदा दुग्ध कृषकहरु चिन्तामा छन् ।
तर, विर्तामोडमै यस्तो गौफर्म छ जुन फार्ममा उत्पादित दुध खानका लागि भने उपभोक्ताले अग्रिम पैसा बुझाएर टिकट लिन्छन् । दुध लिनका लागि विहान उपभोक्ता आफैं गोठमा पुग्छन् । कुपन अनुसारको दूध लिएर फर्किन्छन् । यो यथार्थ हो विर्तामोड–४ स्थित ऊर्जाशील कृषि फार्मको ।

दुई वर्षअघि स्थापित ऊर्जाशील कृषि फर्म आफ्नो उद्देश्यमा अडिग रहँदा शुरुका दिनमा दूध पोख्नु प¥यो रे । ‘तर हिजो आज उत्पादित दूधले उपभोक्ताको माग थेग्न सक्दैन’– फार्मका व्यवस्थापक नरेन्द्र गुरागाँईले भने–‘बिचौलियालाई दूध नदिने अठोट अनुसार शुरुमा दुध विक्री नहुँदा फ्याकेको अवस्था पनि थ्यो, अहिले माग अनुसार उत्पादन गर्न सक्ने हो गोठमै दूध विक्री हुन्छ, बजार पु¥याउने त कुरै आउँदैन ।’ बाछाबाछीसहित ४५ वटा गाइ फार्ममा १८ वटा दुहुना गाई र केही गर्भवती गाई रहेको व्यवस्थापक गुरागाँईले जानकारी दिए ।
गौशाला सञ्चालन गर्नुअघि आफ््ना नानीहरुलाई किनेर दुध खुवाउँदा शुद्ध दूध नपाएका कारण पनि आफूलाई शुद्ध दूध विक्रीका लागि प्रेरणा मिलेको उनले बताए । ढेडदेखि दुइ किलोमिटर सम्म धाएर गोठमै दूध लिन आउने गरेको बताउँदै गुरागाँईले भने–‘आधा लिटर दूध लिन आधा लिटर पेट्रोल खर्च गरेर आउँछन्, ढेड दुई किलोमिटरसम्मका मानिस विहान मर्निङवर्क गर्दै आउँछन् ।’ दूध लिन आउँदा आउँदै अब त गोठमा आउने ग्राहकको लत नै बसेको बताउँदै उनले थपे–‘गोठमै आउँछन्, गाइलाई खान दिन्छन्, गाई बाच्छा–बाच्छीसंग रमाउँछन्, त्यही उफ्रिन्छन र दूध लिएर जान्छन् । उपभोक्ताको भनाई उदृत गर्दै भने–‘गोठ नआए नहुने भइसक्यो रे, गोठ नआउँदा ६ बजेसम्म सुत्थे रे, अहिले ६ बजे शुद्ध दूध घरैमा पुग्छ, त्यसो भनेर सुनाउँछन् ।’
गोठभित्र प्रत्यक्ष रुपमा ४ जनालाई रोजगारी दिएको फार्ममा अप्रत्यक्ष रोजगारी पाउनेहरु पनि निकै छन् । घाँस उत्पादन गर्ने कार्यमा पनि कामदारले काम पाएको उनले बताए । त्यसो त बजारमा पाइने दूधभन्दा उर्जाशिल कृषि फार्ममा उत्पादन गरेको दूधको मूल्य निकै उच्च छ । तर, उपभोक्ताको आकर्षण भने मूल्यतिर भन्दा गुणस्तरतिर गएको गुरागाँई बताउँछन् । उनी भन्छन्–‘अन्यत्र भन्दा हाम्रोमा महंगै हुन्छ, अन्यत्र ३०, ३५, ४० हुँदा हाम्रोमा ५० थियो ।’

विगत दुईवर्ष अघिदेखि पाँचजनाले सञ्चालन गरिरहेको गौशाला सञ्चालनमा आएको भने ६ वर्ष भइसकेको छ । आफ्नै घरमा पनि एक÷दुइवटा गाई पाल्दै आएका केही ब्यक्ति मिलेर समूह गठन गरी शुरु गरेको गौपालन कार्य हाल सहकारीमा परिणत पनि गरे । तर सहकारीबाट पनि यथोचित लगानी असम्भव भएपछि पुनः ५ जनाको समूह बनाएर कम्पनी दर्ता गरी गौशाला सञ्चालन गरिरहेको सञ्चालक युवराज दाहालले बताए । गौशाला यात्राबारे जानकारी दिंदै उनले भने–‘समूहबाट असजिलो भएपछि सहकारी दर्ता गरी सहकारी मार्फत दर्ता गरेर सञ्चालन ग¥यौ, सहकारीबाट पनि आवश्यक लगानी जुट्न नसकेपछि फेरि समूहबाट कम्पनीमा गयौं ।’
घरमा गाई पालेको अनुभवको आधारमा गौफर्म खोलेका उनीहरुले पञ्जावको गौफर्म अवलोकन गरे । तबमात्र गाईपालन कसरी गर्नुपर्ने रहेछ ? गाईको खाना के हो ? कसरी दिनुपर्ने रहेछ भन्नेबारे थाहा भएको दाहालले बताए । उनले भने–पञ्जावमा देखेपछि गाईका लागि अत्यावश्यक साइलेस (एकप्रकारको घाँस) का लागि चकचकीमा २५ विगाहा जमिन लिएका छौं, त्यहाँ साइलेस लगाउँछौं ।’ शहर बजारका बीचमा बसेर शुद्ध दूध खुवाउन पाएकोमा सन्तुष्ट भएको बताउँदै उनले थपे–‘नाफामा पुगेका छैनौं, घाटा पनि छैन, तर शुद्ध दूध खुवाएका छौं त्यसैमा सन्तुष्टि मिलेको छ, शुरुमा दूध खान थालेका उपभोक्ता कोठै छोडेर अन्यत्र गएकाहरु मात्रै अरुले छोडेका छैनन् ।’

































































































