Homeसमाचारसमाचार ब्रेकिङका नाममा हतारो नगर्न आग्रह

समाचार ब्रेकिङका नाममा हतारो नगर्न आग्रह

झापा १८ बैशााख । कोरोना भाइरस महामारीको संवेदनशील घडीमा सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्ने र सामाजिक सद्भावलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विहीवार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै सामाजिक सद्भाव खल्बलिने, जाति, धर्म, लिङ्ग, वर्ग, समुदाय लगायतलाई कोरोना भाइरससँग जोडेर लाञ्छित गर्ने खालका सामग्री सम्प्रेषण नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपिल समेत गरिएको छ । संवाद समूहको संयोजनमा भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले तीन बुँदे निष्कर्षसहित यस्तो अनुरोध गरेका हुन् । ‘न्यूज ब्रेकिङ’का नाममा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण हुने सूचनाले सम्बन्धित क्षेत्रलाई आघात पुगेको विषयमा सरोकारवालाहरुबीच गम्भीर छलफल भएको थियो ।
छलफलमा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले हतारो गर्ने नाममा कतिपय कमी–कमजोरी हुने गरेको बताउँदै त्यसलाई सुधार्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो। अरु समुदायका व्यक्तिलाई कोरोना संक्रमण हुँदा समुदाय नखोल्ने तर मुस्लिम समुदायकालाई संक्रमण हुँदा समुदाय किटान गर्ने प्रबृत्ति गलत भएको सापकोटाले बताउनु भयो । उहाँले औपचारिक मिडिया र सामाजिक सञ्जाललाई एउटै दृष्टिकोणले नहेर्न पनि आग्रह गर्नुभयो। कतिपय विषयमा साझा बुझाई नहुँदा सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति मानिसको नकारात्मक धारणा हुने गरेको बताउँदै सापकोटाले त्यस्ता विषयलाई तथ्यसंगत गहिरिएर हेरि दिन आग्रह समेत गर्दै सञ्चारकर्मीलाई सुरक्षित भई संयमित तरिकाले आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गर्नुभयो।
हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले वर्तमान सन्दर्भमा सञ्चारकर्मी र सञ्चारमाध्यमको ठूलो भूमिका हुने बताउँदै प्रमाणित नभएका सूचना सम्प्रेषण गर्दा सम्बन्धित क्षेत्रमा ठूलो असर पर्ने बताउनु भयो । हल्दिवारीको एउटा रिपोर्टमा ‘आरडीटी पोजेटिभ’ देखिएको घटना हतारमा सार्वजनिक गर्दा हल्दिवारीवासीले ठूलो मानसिक तनाब झेल्नु परेको बताउँदै लिङ्देनले कोरोना परास्त गर्न सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामग्रीको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।
बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले यो बेला नकारात्मक र ब्रेकिङका नाममा तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । बाह्रदशीमा भेटिएका कोरोना संक्रमितको समुदाय र लुकेर बसेको भन्ने कुरा सञ्चारमाध्यममा आउँदा त्यसले नकारात्मक प्रभाव परेको राजवंशीको भनाइ थियो । संक्रमित व्यक्ति कही पनि लुकेर नबसेको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य तथा मानवअधिकार सञ्जाल झापाका महासचिव डा. रुपक खनालले सुरक्षा, स्वास्थ्य र सञ्चार तीन क्षेत्रको सहकार्य र कामले नै कोरोना परास्त गर्न सकिने बताउँदै स्रोत बिनाको सूचना सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । सूचना र स्रोत विश्वसनीय हुनुपर्नेमा उहाँको जोड थियो ।
नेकपाका नेता सीपी कडरियाले सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिंदै । पछिल्लो समय डलर खाने ध्याउन्नमा युटुवर र फेसबुक प्रयोगकर्ताले सूचना र सञ्चार क्षेत्रलाई बदनाम गरिरहेको बताउनु भयो ।
कोरोनाको विषयलाई लिएर समुदाय विशेषलाई लाञ्चित गर्नु नहुनेमा सहभागी सबैको जोड थियो । नेपाल मुस्लिम संघका अध्यक्ष अमिन अली सेखले कोरोनाको विषयलाई लिएर जात, धर्म र समुदाय विशेषलाई लाञ्छित गर्ने कार्यले आफूहरु पीडित भएको बताउनु भयो । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा आएका त्यस्ता कुराले समस्या उत्पन्न गरेको उहाँको भनाइ थियो । छलफलको सहजीकरण संवाद समूहको तर्फबाट अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार ब्रेकिङका नाममा हतारो नगर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img