
कञ्चना ढकाल सिटौला
आज बैशाख ११ गते माता तीर्थ औंसी । आफूलाई जन्म दिने आमाको मुख हेरि मिठामिठा खाने कुरा खुवाई दिने, राम्रा कपडा लगाई दिने र उपहारहरु दिई आमाको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्ने अनि आमाबाट आशिर्वाद लिने दिन ।
घरका बुहारी आमा भेट्न माइत जाने र छोरीहरु माइत आउने गर्दछन् भने आमा नभएका छोरा छोरीले नदीमा गंगा स्नान गरी पितृ मोक्ष प्राप्तीका लागि श्रद्धा पूर्वक तर्पण गर्ने र बृद्धबृद्धालाई भोजन गराई उपहार दिएर आशिर्वाद लिने गर्दछन् । यसरी माता (आमा)को सम्झना स्वरुप आमाप्रति भक्ति भाव जनाउने हिन्दुहरुको महानचाडको रुपमा परापूर्व कालदेखि नै चलि आएको छ । तर यस वर्षको औंसी भिन्न परिवेशमा मनाउनु पर्ने बाध्यात्मक अवस्था आएको छ । आज विश्व नै प्राकृतिक रुपले उत्पन्न जिवाणु कोरोना भाईरस (कोभिड–१९) को त्रासबाट गुज्रिरहेको छ । यसले विश्वका लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेको संख्या निरन्तर बढी नै रहेको छ । दैनिक हुने मानवीय क्षतिले हामी सबैलाई समाप्त पार्ला कि भन्ने भयले घरमै बन्द (लकडाउन) छौं । कहिं कतै घर बाहिर निस्कन सक्ने परिवेश छैन । यो अवस्थामा घरबाट टाढा रहने छोराछोरीहरुले फोनको माध्यमले अथवा संचारको माध्यमबाट नै आमासंग कुरा गर्ने, अनुहार हेर्नुपर्ने भएको छ । श्वभर एकएक फैलिएको कोरोना भाइरसले यस धर्तीकौ उत्कृष्ट उपज मानिसलाई निकै अप्ठ्यारोमा पार्दै गएको छ । यसले मानिसको जिउने आधारलाई कहाँ पुर्याउँछ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । तर, यस्तो परिस्थिति उत्पन्न हुनुको मूल कारण पनि मानवीय गतिविधिकै उपज भएको अनुमान गर्न सकिन्छ । जसका कारण त्यसको जिम्मेवार पक्षपनि मानिस आफैं हुनुपर्ने देखिन्छ । किनकी सम्पूर्ण प्राकृतिक नियम उल्लंघन गरी प्रकृतिको दोहन र विनासमा मानिसकै संलग्नता छ । सुख, सुविधा, आफ्नो उन्नति र भोग विलासी जीवनका लागि गर्दै आएको प्रकृतिको नियमहरु पर्यावरणीय, ‘बायोलोजिकल सन्तुलनका कुराहरु सबै उल्लंघन गरी प्रकृतिलाई (धर्ती अर्थात आमा) लाई नै तहस नहस हुनेगरी गरिएका प्रकृति विपरीत कृयाकलापका कारण नै धर्तीमाताको रक्षार्थ आज यो शुक्ष्म जिवाणु (कोरोना) को उत्पत्ति भएको हुन् सक्छ ।

आज हाम्रो सन्दर्भमा कुरा गर्दा हामी परम्परा संस्कार र सांस्कृतिक रुपमा पनि संक्रमित भइरहेको छौं । पश्चिमी संस्कृति र संस्कारले हाम्रो सामजिक मूल्य, मान्यता, परम्परा र संस्कारहरु भत्किरहेका छन्÷भत्कँदै छन् । संयुक्त पारिवारिक संरचनाबाट एकल संरचनातर्फ धकेलिरहेका छौं र बढी स्वच्छन्द जिवनयापन तर्फ भइरहेका छौं । जस्ले हाम्रो पारिवारिक माहोल खल्बलिंदै गइरहेको छ । परिणाम स्वरुप यसको प्रत्यक्ष असर पर्न थालेको छ । आज धेरै बृद्धबृद्धाहरु बृद्धाश्रममा आश्रित हुन पुगेका छन् । कतिपय मन्दिरहरुमा आश्रित छन् भने कतिपय अपहेलना सहेर घरमै बस्न बाध्य छन् ।
यसैगरी हाम्रो पुरुष प्रदान सामाजिक संरचनाले पनि बृद्धबृद्धाहरु अप्ठ्यारोमा परेको पाइन्छ, माइत हुँदा छोरी बाबुको अधीनमा, विवाहपछि श्रीमानको अधिन, बृद्धावस्था भएपछि छोराहरुको अधिनमा रहनु पर्ने, छोरा र छोरी माथिको असमान कानूनी व्यवस्था, सम्पत्ति माथिको अधिकारको असमान कानूनी व्यवस्था जस्ले महिलाहरुलाई परम्परादेखि नै कमजोर अवस्थामा पुर्याएको छ भने बृद्धबृद्धामा त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ । आज कानूनीमा केही सुधार हुँदै आएता पनि व्यवहारिक रुपमा कार्यान्वयन नभएका कारण समानता हुन सकिरहेको छैन । सम्पत्ति माथिको अधिकारका कारण बृद्धाहरुले झै झमेला, मुद्दा, मामिलासंगै पारिवारिक कलहमा पर्नु परेको अवस्था छ, यसरी आफूले जीवनभरी दुःखले कमाएको सम्पत्तिको अधिकारबाट पनि बञ्चित हुनुपर्ने अवस्थामा कतिपय बृद्धबृद्धाहरु पुगेका छन् । यिनै विभिन्न कारणहरुले बृद्धबृद्धाहरु आफूलाई असहज जिवन धान्न बाध्य भएका छन् ।
प्राकृतिक नियम नै हो हिजो छोराछोरी हुँदै आज आमा बुबाको स्थानमा आइपुगेका छौं र भोलिका दिनमा हजुरबुबा हजुरआमा हुँदै बृद्ध अवस्थामा पुगी यही धर्तीमा मिल्ने छौं । हिजो छोरा छोरी हुर्काउने क्रममा खाई–नखाई, भ्याई–नभ्याई, घाम–पानी, हुरी–वतास केही नभनी छोराछोरीका निम्ति आफूलाई समर्पण गरेर कहिले घोडा, कहिले हात्ती बनेर खेलेको आफू भोकै बसेर खुवाएका दिनहरु औंला समाएर घुमाउन लागेका क्षणहरु, विरामी हुँदा दिनरात नभनी बसेका दिनहरु, स्कूल जानु अघि घरमै कखरा गराएका क्षणहर आज सम्झंदा साँच्चिकै आनन्द आउँछ, पीडा बोध हुँदैन आमालाई । गर्व गर्छिन् उनी । त्यसैले आमा ममताकी खानी हुन्, धर्ती हुन् आमा र धर्तीले सन्तानका लागि आफू बलिदानी हुन पनि पछि पर्दिनन् । त्यसैले भनिन्छ, सन्तान कुसन्तान हुन सक्छ, तर, आमा कहिले कुमाता हुन सक्दिनन् ।
तसर्थ ममतामयी मातालाई माता तीर्थ औसीका दिनमात्रै हामीले सम्झेर वहाँहरुको समर्पण र वलिदानको मूल्यलाई भुक्तान गर्न सकिन्न । त्यसैले बाँकी ३६४ दिन नै आमालाई तीर्थ सम्झेर वहाँहरुको भावनाको कदर गर्दै अधिकार, सुरक्षा, माया, ममता र रेखदेख गरी वहाँहरुको बुढेसकालको साहारा बन्न सिकौं र सकौं । उहाँहरुको समस्याहरुलाई समाधान गर्न सकौं, सुख दुःखका साथी बन्न सकौं र वहाँहरुको पीडाहरुमा मलम लगाउन सकौं । यसरी नै प्रकृतिलाई पनि आमाकै रुपमा प्रेम र सम्मान गर्न सिकौं । अनावश्यक प्राृकतिक दोहनलाई रोकौं । पर्यावरणीय विनासलाई रोक्ने प्रयास गरौं र प्राकृतिक नियमहरुको पालना गर्दौ आमा र धर्तीमाता दुवैको संरक्षण र संवद्र्धन गर्दै श्रृष्टीकर्ताको रक्ष गर्न सकेमा हामी सबैको कल्याण हुन सक्ने कुराको बोध हामी सबैमा हुन सकोस् ।
अन्त्यमा, मेरी जन्म दिन आमा लगायत सम्पूर्ण आमाहरुलाई यसवर्षको मातातीर्थ औसीको अवस्थामा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै विश्व शान्तिका लागि प्रार्थना गर्दछु ।

































































































