झापा ११ बैशाख । आज बैशाख ११ गते । व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरु मध्ये यो दिनलाई नेपाली राजनीतिमा निकै महत्वपूर्ण उपलब्धीको दिनका रुपमा लिइन्छ । २०६२/०६३ मा भएको १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र हो ।
नेपाली जनताको संघर्षपूर्ण बलिदानले स्थापना गरेको लोकतन्त्र दिवस यो पटक कोरोना भाइरस संक्रमणका कारण औचारिक रुपमा मनाउन नसकेपछि यसको महत्व छ । तर अनौपचारिक रुपमा भने दिप प्रज्वलन गरेर आपसमा शुभकामना बाँडेर मनाइदैछ ।
२०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।
गणतन्त्र घोषणापछि २०६४ सालमा भएको पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि पुनः २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचन पछिको नेतृत्वले २०७२ असोज ३ गते संविधानसभाबाट बनाइएको जारी संविधान अहिले कार्यान्वयनको क्रममा छ ।

































































































