दादुराका संक्रमित चारजना
झापा ६ फागुन । सन् २०२३ सम्ममा दादुरा तथा रुवेला रोग निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य पूरा गर्न नेपाल सरकारले दुई चरणमा यसविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । दक्षिण एसियाली मुलुक र नेपालको समेत दादुरा र रुवेला रोग निवारणको लक्ष्य बमोजिम फागुन र चैतमा गरी दुईचरणमा यसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो ।
अभियान अन्तरगत झापामा पनि फागुन १० गतेदेखि दुईचरणमा दादुरा र रुवेलाविरुद्धको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम सञ्चालन गरिने भएको छ । अन्य जिल्लामा फागुन १ गतेबाटै खोप अभियान सञ्चालन भएपनि झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम १० गतेसम्म सञ्चालन हुने भएकाले १० गतेबाट मात्रै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाको आयोजनामा विर्तामोडस्थित कनकाई अस्पतालमा आयोजित संचारकर्मीसंगको अन्तरक्रियामा अभियान सञ्चालनबारे जानकारी दिइएको हो ।
फागुन १० देखि पहिलो चरण र फागुन २१ देखि दोस्रो चरण अन्तरगतको अभियान सञ्चालन हुने झापामा माईपूर्वका ८ वटा पालिकामा फागुन १० देखि र माईपूर्वकै बाँकी दुईपालिकासहित माईपश्चिमका ५ गरी ७ पालिकामा दोस्रो चरणको अभियान अन्तरगत फागुन २१ देखि अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार झापामा ९२ हजार ८९१ जना बालबालिकालाई पोलियो थोपा खुवाइनेछ भने ९ महिनादेखि ५९ महिनासम्मका ७८ हजार २ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप दिइनेछ ।
यसअघि ९ महिना र १५ महिनाको अवधिमा दादुरा र रुवेलाको खोप पूरा गरिसकेका बालबालिकालाई पनि दादुरा÷रुवेला निवारणका लागि पुनः खोप लगाइने स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
मुख्य गरी पाँचवर्ष मुनीका बालबालिकालाई लाग्ने अत्यन्तै संक्रामक मानिने दादुरा रोग सन् २०१९ को अन्त्यमा झापाको गौरादह नगरपालिका वार्ड नं–९ कोरोबारीका चारजनामा देखिएको पनि चम्लागाईले जानकारी दिनुभयो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बनका लागि सरकारले नियमित खोप सञ्चालन गरेपनि पहिलो खोप लिएर पुनः खोप लिन नआउने बालबालिकाको संख्या लगभग २१ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । यस खोप अभियानले खोपमा ड्रप आउट भएकाको पहिचान गरी नियमित खोपमा फर्काउने समेत लक्ष राखिएको कार्यक्रम संयोजक चम्लागाईको भनाई छ ।
खोप अभियान प्रभावकारी बनाउने प्रत्येक गाउँ÷नगरपालिकाका अध्यक्ष÷मेयरको संयोजकत्वमा सम्बन्धित गाउँ÷नगरका स्वास्थ्य प्रमुख सह–संयोजक रहेको समिति गठन गरिएको नि. प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा वार्ड अध्यक्षको संयोजकत्वमा खोप अभियान सञ्चालन समिति गठित छ । प्रत्येक वडाका वडाध्यक्षले वार्डका सबै बालबालिकाले खोप लिएको प्रमाणित गरेपछि मात्रै खोप पूर्ण भएको मानिने रणनीति अपनाइएका कारण पनि यस अभियानमा बालबालिकाहरु खोपबाट वञ्चित नहुने स्वास्थ्य कार्यालय झापाको दावी छ ।
मुख्य गरी पाँचबर्ष मुनीका बालबालिकामा ज्वरो आउने र ज्वरो आएपश्चात शरीरभरी रातो स(सानो विविरा देखिने दादुरा रोगबाट अन्धोपना, पखाला, कानको संक्रमण, न्युमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण हुनसक्ने कम्पन र यी विभिन्न जटिलताबाट बालबालिकाको मृत्यु नै हुनसक्ने जोखिम रहने खोप अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
हावाको माध्यमबाट सर्ने यो रोगको संक्रमणदर समेत उच्च छ । यसैगरी रुवेलाको संक्रमणबाट हाडजोर्नीहरु सुन्निने तथा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिसु जन्मने, जन्मदै विकलाङ्ग हुनसक्ने, रक्तस्राव आदि समस्या देखिने बताइन्छ । अत्यन्तै संक्रामक मानिएको दादुरा तथा रुवेला रोगको खास उपचार नभएका कारण रोग लाग्नेवित्तिकै अरुलाई सर्नबाट विरामीलाई अलग्गै राख्ने र स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार गर्न चिकित्सकको सुझाव छ ।

































































































