झापा २४ माघ । गत सोमबार राति झापाको विर्तामोड नगरपालिका–२ चारपाने दक्षिणमा भएको सुभान शेखको हत्याको कारक रक्सी भएको खुलेको छ ।

हत्यामा संलग्नताको पहिचान गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएकाहरुबाट रक्सी पिएर विवाद भएपछि हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनु भयो । शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सोमबार राति हत्या गरिएका भारतीय नागरिक शेखको हत्यामा संलग्न चारपाने–२ का २० वर्षीय करण चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई सार्वजनिक गरेको छ ।
विर्तामोड–२ चारपानेका एनकुमार राजवंशीको दुईवटा घरको बीचमा रक्सी पिएर उत्पन्न विवादपछि शेखलाई चौधरी र यादव मिलेर ढुंगाले हानी हत्या गरेको र विवादका क्रममा शेखले अपाच्य गाली गरेका कारण लिंगसमेत चक्कुले काटिदिएको अनुसन्धानबाट खुलेको झापाका प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
हत्या गरी लिङ्गसमेत काटेपछि चौधरी र यावदले एनकुमार राजवंशीको परालमा घिसारेर लगेर आगो लगाइदिएको कोइरालाको भनाइ छ।
विभत्स ढंगले हत्या गरेर जलाएको अवस्थामा खेतमा मंगलबार बिहान शेखको शव फेला परेको थियो। पूर्ण रुपमा जलेको अवस्थामा पाइएकाले शव पहिचानका लागि प्रहरीलाई निकै गाह्रो भएको थियो। इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार बिहान लगभग साँढे आठ बजे मात्र घटनाबारे जानकारी आएको थियो।
हत्या गरिएका शेख भारत बिहारको अररियाका स्थायी बासिन्दा भएको खुलेको छ । शेख १० बर्षदेखि चारपानेस्थित ससुरालीमा बस्दै आएका भए पनि लगभग डेढ महिनादेखि एनकुमार राजवंशीको घरको सटर भाडामा लिएर बस्दै आएका थिए।
अभियुक्त यादवको घरबाट प्रहरीले शेखले प्रयोग गर्ने मोवाइल फोनको सेट र उनले प्रयोग गर्ने सिमकार्ड, चक्कु, लाइटर, भेष्ट र चुरोटका ठुटाहरु बरामद गरेको छ। तर उक्त सिमकार्ड टोकेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याएको र मोवाइल फोन सेट भने यादवले बाकसमा लुकाएर राखेको प्रहरीको भनाइ छ।

































































































