झापा १६ पुस । ४४ औं मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस दमक नगर समितिले अन्तरक्रियात्मक विचार गोष्ठी सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा मेलमिलाप दिवसको औचित्यमाथि छलफल गर्दै वी.पी.ले लिनुभएको नीतिको अनुकरण गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरिएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्य र दमक नगर सभापति रोशन विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाँच नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, देवीप्रसाद दाहाल, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, पदम लिम्बू लगायत कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पर्शुराम रिजालले स्वागत र प्रकाश प्रसाइले सञ्चालन गर्नुभएको थियो ।
मन्तब्य राख्ने अधिकांश वक्ताहरुले नेपालको राष्ट्रियता संकटमा परेका बेला वी.पी.ले लिनुभएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सीमाविवाद समाधानमा दलीय एकता प्रदर्शन गर्न सत्तापक्षीय र प्रतिपक्षीय नेताहरुलाई आग्रह गरेका थिए ।
महामानव वी.पी कोइरालासहितका कांग्रेस नेताहरुलाई राजद्रोहको मुद्धा लगाई निर्वासनको सजाय दिइएको अवस्थामा आठ बर्षको निर्वासनपछि मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते कोइराला, गणेशमान सिंह, शैलजा आचार्यसहित शीर्ष नेताहरु स्वदेश फर्किएका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशका कारण नेपालको राष्ट्रियता संकटमा पर्ने जोखिम देखेपछि राष्ट्रियता संरक्षण गर्ने उद्देश्यले मेलमिलाप नीति लिएर शीर्ष नेताहरु स्वदेश फर्किएको स्मृतिमा नेपाली कांग्रेसले प्रत्येक बर्षको पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।
यसैगरी नेपाली कांग्रेस मेचीनगर समिति अन्तर्गतका १५ वटै वडा समितिको आयोजनामा मेलमिलाप दिवस सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सम्बन्धित वडाका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समितिका पदाधिकारी, सदस्य, नगर समितिका पदाधिकारी, सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यलगायतको उपस्थितिमा मेलमिलाप दिवसको सान्दर्भिकताका बारे चर्चा गरिएको मेचीनगर सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
वी.पी.को नीति अनुशरण गर्न आग्रह

































































































