बिर्तामोड २८ फागुन । नेपाल तथा भारतको शिक्षा, साहित्य, भाषाको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै जय नेपाल प्रतिष्ठान झापाले दान खालिङलाई सम्मान गर्ने भएको छ ।
नेपाल भारतमा बौद्धिक नक्षत्रको रुपमा मानिने सरल जीवनका अनुयायी खालिङलाई उहाँले शिक्षा, साहित्य, भाषाका क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्मानमा पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान २०८२ बाट सम्मान मरणोपरान्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिनुभयो ।
आदर्श नागरिक सम्मानबारे जानकारी दिने उद्देश्यले बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष बस्नेतले सम्मानित हुन लाग्नु भएका खालिङको जीवनी चर्चा गर्दै सम्मानको औचित्यबारे प्रष्ट पार्नु भएको थियो ।
दार्जिलिङमा जन्मिए खालिङले नेपालको शैक्षिक क्षेत्रका साथै साहित्य र भाषाको विकास र प्रवद्र्धनमा बौद्धिक आन्दोलन गरी ठूलो योगदान पुर्याउनु भएको थियो ।
खालिङले नेपाली भाषा र साहित्यको विकास तथा प्रचार, साहित्यिक सम्मेलन र बौद्धिक छलफल, विचारप्रधान लेखनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी शिक्षातर्फ झापाका तत्कालिन सरकारी तथा सामुदायिक र निजी विद्यालयमा समेत अध्यापन गरी शैक्षिक गुणस्तर, अंग्रेजी कक्षा सञ्चालन गर्नु भयो ।
आजीवन अविवाहित उहाँ नेपाल भारतसहित विश्वलाई नै आफ्नो परिवार ठान्ने खालिङ पुस्तकलाई आफ्नो सम्पत्ति मान्ने गरेको सामाजिक व्यक्तित्व राजकुमार पोखरेलले बताउनु भयो ।
प्रतिष्ठानले गर्ने मरणोपरान्त सम्मान ग्रहणका लागि स्वर्गीय खालिङकी कान्छी बहिनी नवमी खालिङ र अन्य आफन्तहरुको उपस्थिति रहने बनाइएको छ । शनिबार प्रदान गर्न लागिएको सम्मानमा नेपाल तथा भारतका साहित्यकारसहित अन्य व्यक्तित्वहरुको सहभागीता रहने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष प्रदान गरिने नगद राशीसहितको पूर्ण टुङ्ग आदर्श सम्मानको राशी लगभग दुईलाख ५० हजार सम्मको हुने बताइएको छ । प्रतिष्ठानकातर्फबाट एकलाख ११ हजार, खालिङले लामो समयसम्म अध्यापन गरेको बिर्तामोडस्थित लिटल फ्लावर्स स्कूलका संस्थापक राजेश खड्काले एकलाख एक हजार प्रदान गर्नुहुने निश्चित भइसकेको जानकारी दिंदै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘टापर टेम्पल स्कूल र पूर्व विद्यार्थी समाजले पनि उक्त सम्मानमा रकमसहित सहभागिता जनाउने भएपनि रकम उल्लेख नगरेको हुनाले यति नै भन्न सकिएन, यद्यपी दुईलाख ५० हजारसम्म हुनेछ ।’
प्रतिष्ठानको चलन अनुसार मुख्य रकमबाहेक बर्षेनी इच्छुकले इच्छा अनुसार रकम उपलब्ध गराउने गरेका छन् ।
प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत गर्नुभएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण स्वस्तिका आचार्यले गर्नुभएको थियो । प्रतिष्ठानले झापा, इलामसहित अन्य देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।
जय नेपाल प्रतिष्ठानको पूर्ण टुङ्ग आदर्श सम्मान स्व. खालिङलाई



















