बिर्तामोड २९ फागुन । युवाहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकामा सञ्चालित रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन सम्बन्धी तालिम आज समापन भएको छ ।
दमक बहुप्राविधिक शिक्षालय दमकको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सञ्चालित निर्माण नगरपालिकामा सञ्चालित तालिम बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
तालिमको समापन गर्दै प्रमुख अतिथि महताराले सिकेको सीपलाई श्रम र सिर्जनामा बदलेर स्वाबलम्बी हुन सुझाउनु भयो । हातमा सीप भए स्वदेशमा मात्रै नभएर विदेशमा पनि सहज हुने बताउँदै आगामी दिनमा स्थानीय क्षेत्रमा अन्यत्रबाट प्राविधिक खोज्नुपर्ने समस्या समाधान हुने गरी सीपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
दमक बहुप्राविधिक शिक्षालय दमकका भरत आचार्यले सञ्चालन गरेको कार्यक्रममा रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिममा सहभागीलाई प्रमुख अतिथि प्रसाईले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
निःशुल्क सञ्चालित ६५ दिने अर्थात ३९० घण्टे तालिम समापन कार्यक्रममा आयोजक संस्थाका गजेन्द्र लिम्बू, रोसन देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
सिटिइभिटी मान्यता प्राप्त दमक बहुप्राविधिक शिक्षालय दमकले विगत लामो समयदेखि विभिन्न किसिमका सीपमुलक तालिम सञ्चालन गरेर स्वरोजगार बन्न उत्प्रेरित गर्दै आएको छ ।
रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन सम्बन्धी तालिम सम्पन्न



















