Homeसमाचारसरिताका प्रतिबद्धता

सरिताका प्रतिबद्धता

इन्दु पूर्वेली

बिर्तामोड फागुन । झापा बुद्धशान्ति–३ निवासी सरिता प्रसाई झापा क्षेत्र नं–२ का लागि नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको उम्मेद्वार हुन् । ‘नयाँ स्वरुपमा उदायो काँग्रेस – सबै मिलेर बनाऔं देश’ भन्ने मुख्य नारासहित निर्वाचनमा होमिएकी सरिता बाल्यकालदेखि नै राजनीतिमा सक्रिय छन् । १०/१२ बर्षको उमेरदेखि नै आमा दिब्या प्रसाईंको हात समाएर राजनीतिमा प्रवेश गरेकी सरिता मेची क्याम्पसमा नेविसंघको क्याम्पस इकाई समितिको उपाध्यक्ष भएर नेपाली कांग्रेसको सांगठनिक अभ्यासमा प्रवेश गरिन् । नेविसंघ झापाको उपाध्यक्ष, नेविसंघ केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, तरुण दलकै केन्द्रीय कोषाध्यक्ष, नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै भातृ संस्थाको खुड्किलोबाट पार्टी संगठनमा आबद्ध भइन् । पार्टीको १३ औं महाधिवेशन र १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य बनेकी सरिताको संसदीय यात्रा २०७० बाट शुरु भयो ।
२०२४ सालमा बुवा विरेन्द्रप्रसाद प्रसाई र आमा दिब्या प्रसाईंका कोखबाट जन्मिएकी सरिता नेपाली कांग्रेसका तर्फबाट २०७० सालमा समानुपातिक सांसद बनिन् । २०७५ सालमा राष्ट्रियसभा सदस्य बनेकी उनको कार्यकाल दुईबर्षमात्रै तोकिएको थियो । त्यही अवधिमा राष्ट्रियसभामा प्रमुख सचेतक एवं २०७५ सालमा ९ महिना अवधि कृषि राज्यमन्त्री बनेकी सरिता अहिले जनमतकै बलमा संसदमा उपस्थिति जनाउने सोचसहित झापा क्षेत्र नं–२ को चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले देशभरमा प्रत्यक्षतर्फ ११ जना महिला उम्मेद्वार प्रतिष्पर्धामा उतारेको छ । तीमध्येकी एक हुन् सरिता ।
सरिता प्रसाईको राजनीतिक एवं नेपाली कांग्रेसमा क्रियाशिलताको लिगेसी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्रजातान्त्रिक समाजवादका ब्याख्याता सी.के.(छत्रमानकेशी) प्रसाई, नेपाली कांग्रेस पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाई, मामा चक्रप्रसाद बास्तोला (नेपाली कांग्रेसका नेता) सँग जोडिएको छ । राजनीतिमार्फत सांगठनिक अभ्यास एवं सामाजिक सेवामा सक्रिय उनी हालसम्म अविवाहित छन् ।
‘प्रतिनिधिसभाका सांसदको काम भनेकै सुशानयुक्त जनमुखी नीति, नियम, ऐन, कानूनहरु बनाउने हो । जनताको सर्वोपरी हितका लागि नीति निर्माण गर्न स्वच्छ छवि भएको त्याग, बलिदान, संघर्षले खारिएको देश र जनतामा समर्पित जनप्रतिनिधि आवश्यक पर्दछ’–त्यसैका लागि मेरो उम्मेद्वारी हो उनीद्वारा जारी प्रतिबद्धता पत्रमा भनिएको छ–‘जनप्रतिनिधि हुने ब्यक्तिमा निष्ठा, इमानदारीपूर्ण समर्पण, बिचार, सिद्धान्त र दुरदृष्टिसहितको सकारात्मक सोच चाहिन्छ । स्थानिय भूगोललाई राम्ररी बुझेको अनुभवमा आधारित योगदान गर्ने क्षमता चाहिन्छ ।’
यसअघिका अभ्यासका आधारमा भन्नुपर्दा संसद भित्रको संवादमा देश र जनताका सर्वोपरि हितका एजेन्डाहरु स्पष्ट रुपमा राख्छिन् उनी । राजनीतिक चेत र संविधान लेखनदेखि कानून निर्माण र मन्त्रालय सञ्चालन गरेको अनुभव बटुलेकी सरिताले भनिन्–‘हामी आफैंवाट परिवर्तन भई देशको परिवर्तनका लागि नवीन ऊर्जासहितको काँग्रेस लिएर तपाईहरुका सामु आएका छौं । सबै नागरिकलाई जोड्ने हाम्रो प्रयासलाई सफल वनाउन आम मतदाताहरुसँग रुख चुनाव चिन्हमा स्वस्तिक छाप लगाई अत्यधिक मतले बिजयी गराइदिनु हुन बिनम्र अपिल गर्दछु ।’
नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ का उम्मेद्वार गगनकुमार थापाले नेपाली कांग्रेसका मुख्य १० भिजन सार्वजनिक गरिसकेका छन् । ती १० भिजन कार्यान्वयनसँगै झापा क्षेत्र नं–२ की उम्मेद्वार सरिता प्रसाईले स्थानीय भूगोलको आवश्यकतालाई समेटेर १० बुँदे प्रतिबद्धताहरु सार्वजनिक गरेकी छन् ।
यस क्षेत्रका बासिन्दाका आकांक्षासमेतलाई समेटेर उनले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिंचाई, सडक, नदी तटबन्ध, वातावरण तथा ब्यवस्थित बन बिकास, बिद्युतीकरण, टेलिफोन, इन्टरनेट, खेलकुद, सीप बिकास युवा र महिला शसक्तीकरण, श्रम तथा रोजगारी, बालबालिका, फरक क्षमता भएका ब्यक्ति, अशक्तता भएका र जेष्ठ नागरिकको संरक्षण लगायत उनका मुख्य चुनावी एजेण्डा हुन् । नेपालका सबै भाषा, लिपि, साहित्य, कला, संस्कार, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै मर्यादित र सभ्य समाज निर्माणका लागि आपसी मेलमिलाप र सहयोगी भावनाको बिकास गरी समृद्ध राष्ट्र निर्माणमा अघि बढ्ने उनको प्रतिबद्धता छ ।
सरिताले सार्वजनिक गरेका १० बुँदे प्रतिबद्धतामा कृषिलाई विशेष प्राथमिकतामा राखिएको छ । माटोको विविधताका आधारमा कृषि उत्पादन बृद्धि, विर्तामोडस्थित कृषि थोकवजारको उचित ब्यवस्थापन, स्थानीयस्तरका कृषि वजारको स्तर उन्नति, कृषि प्रविधि सूचना तथा सेवा केन्द्र स्थापना, सरकारी कृषि केन्द्रहरुलाई कृषकप्रति उत्तरदायी वनाउने, कृषि विद्युत्तमा सहुलियत, मल तथा गुणस्तरीय विऊ–विजनको सहज र सुपथ मूल्यमा उपलब्धता, पशु तथा वाली वीमा, कृषि उत्पादन भण्डार निर्माण, सिंचाइको प्रबन्ध गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । सुपारी, चिया र रवर खेती बृद्धिसँगै यस क्षेत्रलाई सुपारी उत्पादन, अलैंची तथा जडिवुटी प्रशोधन र ब्यापारिक क्षेत्रका रुपमा विकास गर्ने नीति निर्माण गर्ने जनाइएको छ ।
शैक्षिक हबका रुपमा विकसित हुँदै गरेको यस क्षेत्रका निजी विद्यालयहरुलाई ब्यवस्थित गर्दै सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालयका रुपमा विकसित गर्ने, सूचना र प्रविधिमैत्री उच्च शिक्षालय विस्तार, संस्कृत विद्यालयको संवद्र्धन एवं संस्कृत भाषा अध्यापन गराउन उच्च शिक्षालय स्थापना गर्ने नीति निर्माणमा जोड दिने उनले बताइन् ।
स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्दै सस्तो र सुलभ शुल्कमा स्वास्थ्य उपचारको नीति एवं यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा ल्याइएको स्वास्थ्य वीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घरदैलोका क्रममा उम्मेद्वार सरिताले बताउँदै आएकी छन् । सरकारी स्वास्थ्य केन्द्र एवं अस्पतालहरुको स्तरबृद्धि गर्दै सेवा प्रभावकारी बनाउने र क्षेत्रस्तरीय अस्पताल निर्माणको नीति निर्माण गरी कार्यान्वयनमा लैजाने योजना रहेको उनले सुनाइन् ।
सहकारीमा आधारित साना उद्योग सञ्चालन, निजी क्षेत्रबाट सञ्चालित उद्योग, पर्यटन तथा होटलतर्फका उद्योगको संरक्षण, संवद्र्धन, स्थानीय हाटबजारको स्तरबृद्धि, उपभोक्ता अधिकारको संरक्षण एवं कृषिजन्य वस्तु प्रशोधनका लागि उद्योग निर्माणलाई प्राथमिकतामा राखिएको प्रतिबद्धतामा युवाहरुको रोजगारीका लागि रोजगारमूलक प्राविधिक तालिम, सूचना–प्रविधिमा क्षमता विकास गर्दै ‘आइटी रोजगार पार्क’ निर्माणको नीति लिइने उल्लेख छ । महिलाहरुले चलाएका सहकारीहरुको विकासमा विशेष जोड दिइने जनाउँदै उनले हाल कायम रहेको ३३ प्रतिशत महिला सहभागिता बढाएर ५० प्रतिशत पु¥याउन नीतिगत ब्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।
‘रोजगारीका नयाँ अवसरको सिर्जना गरिनेछ’–प्रतिबद्धता पत्रमा भनिएको छ–‘बैदेशिक रोजगारमा रहेका युवाहरुको अभिलेख तयार गरी उनीहरुको संरक्षणका लागि सम्पर्क र समन्वय केन्द्र स्थापनाका साथै बैदेशिक रोजगारका नाममा हुने ठगी नियन्त्रणलाई प्रभावकारी वनाइनेछ ।’
औपचारिक र अनौपचारिक श्रमक्षेत्रमा काम गर्ने श्रमीकहरुको ज्याला र रोजगारीको सुनिश्चिततामा जोड दिइएको प्रतिबद्धता पत्रमा युवाहरुको क्षमता र प्रतिभा विकासका लागि खेलकुद क्षेत्रको विकास गरिने उल्लेख छ ।
आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरुको स्तरबृद्धि गर्दै पर्यटनमैत्री सदाचार बृद्धि, आयआर्जनमा बृद्धि गर्ने नीति तयार गरिने जनाउँदै प्रतिबद्धतापत्रमा बालउद्यान, जेष्ठ नागरिक पार्क, वोटानिकल तथा जियोलोजिकल पार्कहरुका पूर्वाधारहरुको विकास गर्ने, धार्मिक र कृषि पर्यटनको विकासमा जोड दिइने उल्लेख छ । स्थानीय मठ, मन्दिर, तथा विभिन्न धर्मावलम्बीहरुका धार्मिक स्थलहरुको संरक्षण र संम्बद्र्धन गर्ने नीति तय गरिने जनाइएको छ ।
छिमेकी जिल्ला जोड्ने सडक कालोपत्रे, ग्रामीण सडकहरुको स्तरउन्नती, नदी नियन्त्रण, पूल निर्माण, सिंचाइ कुलो तथा साना नहरहरुको निर्माण एवं विस्तारलाई प्राथमिकताका राखिएको छ ।
नदीजन्य सामग्री उपयोगलाई ब्यवस्थित गरिने, कृषि क्षेत्रमा विषादी नियन्त्रण गरी पर्यावरण सुद्धीकरण, वातावरण मैत्री उद्योग, निजी/सामुदायिक, सरकारी वनहरुको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने नीति तय गर्ने पनि उम्मेद्वार सरिताको प्रतिबद्धता छ।
अब्यवस्थित वसोवास र सुकुम्बासी समस्या समाधानमा विशेष जोड दिइने उल्लेख गर्दै प्रतिबद्धता पत्रमा समावेशी सहभागिता र नियमित नागरिक संवादलाई प्राथमिकता दिने जनाइएको छ । ‘योजना छनौट, निर्माण, विकास तथा हरेक अवसरहरुमा महिला, युवा तथा फरक क्षमताका ब्यक्तिहरु, आदिवासी जनजाती, दलित तथा पिछडिएका समुदायको समावेसी सहभागितामा जोड दिदै ब्यक्तिको मानव अधिकारको संरक्षण र संवद्र्धनमा जोड दिइनेछ’–प्रतिबद्धतापत्रमा भनिएको छ ।
‘समसामयिक एवं राजनीतिक एजेण्डाहरुमा नेतृत्वले गरेको लविङमा ‘एस’ वा ‘नो’ भन्नेभन्दा विषयवस्तु केलाएर परिवर्तन गर्ने क्षमता राख्छु’–सरिताले नेपाली कांग्रेस कार्यकर्ता भेटघाटका क्रममा भनिन्–‘तसर्थ परिपक्व नेतृत्व छान्नुस् ।’ उनले आफू राज्यमन्त्री छँदा रहेका अधुरा काम पूरा गर्नका लागि पनि आफू र आफ्नो दललाई मत दिन मतदातासँग अपिल गरिन् । जेनजी विद्रोहपछि देश संकटमा रहेको र उक्त संकटलाई समाधान गर्ने क्षमता कांग्रेसमै रहेकाले कांग्रेसलाई बहुमत दिनुपर्ने उनको धारणा थियो । २००७ सालदेखि संविधान घोषणासम्मका काम कांग्रेसकै अगुवाइमा भएको आम मतदातालाई स्मरण गराउँदै उनले सँधै समन्वयकारी भूमिका खेल्ने, साझा एजेण्डा निर्माण गर्न सक्ने पार्टीलाई परिवर्तित सन्दर्भको नेतृत्व गर्न दिनुपर्ने भनाई छ ।
हालसम्म समानुपातिक कोटाबाट संसदीय अभ्यासलाई नजिकबाट अनुभव गर्दै राज्यमन्त्री, पार्टीको प्रमुख सचेतकसम्मको जिम्मेवारी कुशलतापूर्वक संहालेकी नेतृ सरिताले आफूलाई जनमतको बलमा संसदमा पु¥याउन पनि झापा क्षेत्र नं–२ का आम मतदातासमक्ष अपिल गरेकी छन् । जनमतको सँधै सम्मान गर्ने र आफूलाई जिताएको पछुतो नहुने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरिताका प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img