बिर्तामोड फागुन । प्रतिनिधि सभा झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार डा. युवराज संग्रौलाले देश अप्ठ्यारोमा परेको बेला संकटबाट निकास दिनका लागि बौद्धिक जगतले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।
देशभक्त स्वतन्त्र नागरिक समाजले आयोजना गरेको पत्रकारसंगको भेटघाटमा आफ्नो उम्मेद्वारीबारे जानकारी गराउँदै संग्रौलाले राजनीतिमा दलीय सिण्डीकेटका कारण बौद्धिक समूह संसद बाहिर हुँदा देश निर्माणमा बौद्धिकताको उपयोग हुन नसकेको बताउँदै भने, ‘पद चाहिएर संसदमा जागिर खान जान लागेको होइन, प्रणाली बदल्न जान लागेको हो ।’
चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सम्पन्न गर्दा क्षेत्र नं. २ मा गर्न सकिने कृषि, उद्योग स्थापना लगायतका विषयमा अध्ययन समेत गरेको बताएका संग्रौलाले आफूले चुनाव जितीसकेको बताए ।
झापा क्षेत्र नं. २ मा कारणवस आफ्नो पराजय भए त्यो पराजय समग्र बौद्धिक जगतको पराजय भएको बताउँदै भने, ‘हारजितले मलाई खासै फरक पार्दैन, तर मेरो पराजय भनेको समग्र बौद्धिकहरुको पराजय हो, मेरो पराजयले अबको २५ वर्ष बौद्धिकहरु राजनीतिबाट पलायन हुन्छन् ।’ बौद्धिकहरुले आफू आवद्ध दलमा हस्तक्षेप गर्नुपर्ने धारणा राख्दै संग्रौलाले दलभित्र सबै नराम्रा मान्छे मात्रै छैनन् ।
मानिस उपभोक्तावादमा फसेका कारण उत्पादन हुन नसकेको बताउँदै संग्रौलाले आयात बढे कर बढ्छ भन्ने राज्यको सोचाई नै गलत भएको बताए । आयात बढे कर बढ्छ भन्ने सोचाई हावी हुँदा कृषिमा लगानी र उत्पादनको प्रवद्र्धनमा राज्यले ध्यान नदिंदा परनिर्भरता बढेको उनको भनाई छ ।
देशमै पर्याप्त स्रोत हुँदाहुँदै पनि कांग्रेस एमालले विदेशी सहायता ल्याउने कुलतमा फसेको आरोप लगाएका संग्रौलाले भने, ‘पुँजी राखेर घाटा देखाउँदै विदेशी अनुदान ल्याउन कांग्रेस कम्युनिष्टहरु उद्दत रहेका छन् ।’
कृषिमा लगानी र प्रवद्र्धन हुन नसक्नु, उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्न नसक्नुले दिनानुदिन युवा जनशक्ति पलायन भइरहेको बताएका संग्रौलाले औद्योगिक विसर्जनवादको अन्त्य गर्दै उत्पादनमुखी उद्योगिकीकरण गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ । पत्रकारहरुसंग आफ्ना कुरा राख्दै असफल परराष्ट्र नीति, राज्यको प्रणालीमा हस्तक्षेप, उद्योगको स्थापना र रोजगारी सिर्जना, जनसंख्या बृद्धिदरमा आएको कमी हुँदै जाँदा युवा विदेश पलायनले देशमा अबको २० वर्षपछि आउन सक्ने समस्या नियन्त्रणमा भूमिका खेल्ने उनको भनाई थियो ।
आफूले झापा क्षेत्र नं २ मा स्कूल खोलेर आदिवासी, जनजाति, विपन्न विद्यार्थीलाई निःशुल्क आवासिय रूपमा अध्यापन गराउने बताएका संग्रौलाले अब झापामै बसेर जनताको सेवामा काम गर्ने प्रतिवद्धता जनाए ।
आफू नेता भएर चुनाव लड्न नआएको बताउँदै उनले नागरिक सर्बोच्चताको मुद्दा उठाएर बौद्धिकहरूलाई राजनीतीमा आउन प्रेरणा दिन निर्बाचनमा उम्मेदवारी दिएको जनाए। आफ्नो हार सम्पूर्ण वौद्धिकहरूको हार हुने बताउँदै उनले आफूलाई झापा क्षेत्र नं २ का जनताले मत दिएर बिजयी बनाउने विश्वास व्यक्त गरे ।
बौद्धिकलाई राजनीतिमा ल्याउन आफ्नो उम्मेद्वारी संग्रौला



















