बिर्तामोड ७ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गर्दा ७० सालको जस्तो बिबेक प्रयोग गर्न सुझाउनु भएको छ ।
नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. २ को आयोजनामा गरामनीमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले ०६४ को जस्तो आवेग प्रयोग गरेर पछुताउने कि ७० को जस्तो बिबेक प्रयोग गरेर देशलाई निकास दिने भन्ने मतदाताको हातमा रहेको बताउँदै बिबेक प्रयोग गरेर देशलाई निकास दिनसक्ने दललाई भोट दिन आग्रह गर्नुभयो ।
संविधानसभाबाट संविधान बनाउनका लागि अरबौं रकम खर्चिएर भएको २०६४ को निर्वाचनले निकास दिन नसकेपछि ७० मा पुनः निर्वाचन गर्नु परेको प्रसङ्ग उल्लेख गर्दै मतदाताले बिबेक प्रयोग गरेर ७० को निर्वाचनमा कांग्रेसलाई नेतृत्वमा पुर्याएसंगै दुई वर्षमै संविधान बनेको स्मरण गराउनु भयो ।
आवेगको परिणाम र बिबेकको प्रतिफलबारे स्मरण गराउँदै उपसभापति शर्माले भन्नुभयो, ‘तिनै दल र तिनै नेता हुन्, ६४ को ४ वर्षमा किन संविधान बनेन र ७० पछि २ वर्षमै कसरी संविधान बन्यो भन्ने कुरा बुझौं, ६४ को निर्वाचन आवेगको थियो कांग्रेस नेतृत्वमा थिएन् ७० को निर्वाचन बिबेकको थियो, कांग्रेसलाई नेतृत्व सुम्पियो २ वर्षमै संविधान बन्यो ।’
मतदान गर्दा युवा पुस्तालाई बुझेर बिबेक प्रयोग गर्न अनुरोध गर्दै उपसभापति शर्माले भन्नुभयो, ‘तपाईले दिएको भोट पाँचवर्षका लागि हो, केवल एकदिनका लागि मात्रै होइन, त्यसैले प्रश्न गरेर र बुझेर मात्रै भोट दिनुहोस्, उहाँले थप्नुभयो, ‘चुपचाप ……….मा छाप भनेको पनि सुनिन्छ, होइन प्रश्न गर्नुहोस् बुझेरमात्रै भोट दिनुहोस् ।’
युवाको भावनालाई कांग्रेसले राम्ररी बुझेको बताउँदै शर्माले त्यही भावनालाई सम्बोधन गर्दै कांग्रेसले पार्टी नेतृत्व र देशको नेतृत्वमा युवाको मनोविज्ञान बुझ्ने गगन थापालाई अघि सारेको बताउनु भयो ।
नेपाली कांग्रेसले अघि सारेका प्रधानमन्त्रीका उम्मेद्वारलाई देश अब कस्तो हुनुपर्छ भन्ने कुरामा छलफल गर्न जहाँ, जहिले पनि तयार रहेको स्पष्ट पार्दै उपसभापति शर्माले प्रधानमन्त्रीका प्रतिष्पर्धी दुई दावेदार झापा ५ का उम्मेद्वार र कांग्रेस उम्मेद्वारलाई पब्लिक डिवेडका लागि कांग्रेस सदैव तयार रहेको बताउनु भयो ।
कांग्रेसलाई पार्टी हारजितले खासै असर नपर्ने बताउँदै शर्माले देशले हार्न नहुनेमा जोड दिनुभयो । देशलाई बचाउनका लागि कांग्रेसको नेतृत्व अहिलेको आवश्यकता रहेको बताउँदै शर्माले कांग्रेसलाई भोट दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै शर्माले बिदेशलाई हेर्दा देशमा केही नभएको जस्तो देखिएको धारणा राख्दै देशभित्रै २० अघि र अहिलेलाई तुलना गरे के भयो के भएन भन्ने जवाफ त्यही भेटिने बताउनु भयो । शर्माले भन्नुभयो, ‘पर्याप्त हुन सकेन होला, तर केही नभएको भने होइन,खानेपानी, शिक्षा, स्वास्थ्य, विजुलीमा मलेसियासंग तुलना गर्दा केही भएन होला, तर यहीको बाटा २० वर्ष अघि कस्तो थियो ? अहिले कति बाटा बने ? विजुली कति घरमा बल्थ्यो ? अहिले कति घरमा बल्छ ?’
क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रत्यक्ष तर्फका उम्मेद्वार सरिता प्रसाई, समानुपातिकतर्फका उम्मेद्वार तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा शिवाकोटी, शुशिला ढकाल, मनुमाया विश्वकर्मा, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस कोशीका सभापति उद्वव थापा, जिल्ला पार्टी कार्यवाहक अध्यक्ष शेरबहादुर भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रश्न गरेर मात्र भोट हाल्न युवालाई उपसभापति शर्माको सुझाव



















