धुलावारी ७ फागुन । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, धुलावारीले स्थापनाको २५ वर्ष (रजत महोत्सव) को अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । रजत महोत्सव मनाउँदै गर्दा केन्द्रले महत्वका साथ निर्माण गरेको तपस्याधामको समेत उद्घाटन गरिने भएको छ ।
योग, ध्यान, प्रवचनका माध्यमबाट मानवीय सेवामा संलग्न ब्रम्हकुमारी राजयोग धुलावारीले रजत महोत्सवको अवसरमा थप मानवीय सेवा तथा अन्य संरचनागत कार्यक्रमसहित विभिन्न कार्यक्रमको तय गरेको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा आगामी शनिबार केन्द्रको परिसरमा नवनिर्मित चारधाम (तपस्याधाम), बुद्धशान्तिमा राजयोग पाठशाला आनन्द भवनको उद्घाटन, शान्ति पदयात्रा, सन्त समाज र समाजसेवीहरुको सम्मान तथा विभिन्न संघ संस्था, तीनदिने राजयोग मेडिटेशन शिविर, जीवन जिउने कला तथा महिलालाई सम्मान लगायतका कार्यक्रम राखिएको बताइएको छ । नारी शक्तिहरुलाई सम्मान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।
रजत महोत्सव अन्तरगत सञ्चालन गरिने कार्यक्रमबारे तपस्याधाम परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
सप्ताहव्यापी कार्यक्रम अनुसार सेवा केन्द्रले फागुन ५ गते रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रम अनुसार ७ गते पत्रकार सम्मेलन, ८ गते बुद्धशान्ति राजयोग पाठशाला उद्घाटन, ९ गते शान्ति पदयात्रा, रजत जयन्ती र तपस्याधाम उद्घाटन, १० गते सन्त समाज र समाजसेवीहरुको सम्मान, गीताका सार, जीवनको आधारबारे जानकारी, तीनदिने राजयोग मेडिटेसन शिविर प्रारम्भ, ११ गते संघसंस्थाहरुलाई सम्मान, १२ गते नारी सम्मान तथा जीवन जीउने कलाबारे जानकारी गराइने छ ।
ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबू राजस्थानकी अन्तराष्ट्रि य ख्याति प्राप्त उत्प्रेरक वक्ता उषा दिदी, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राज दिदी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ब्रम्हाकुमारी राजयोग कोशीकी प्रमुख गीता दिदीको समुपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारले राखेका जिज्ञासाबारे बृज पाठकले जानकारी दिएका दिए । सो अवसरमा धुलावारी सेवा केन्द्रकी सञ्चालिका अनिसा, ब्रम्हकुमारी राजयोग समाजसेवा प्रभाग माउण्ट आबुका बिरेन्द्र भाई जी, बालु भाइजी, तुलसीराम उप्रेती लगायतको उपस्थिति थियो ।
स्व सावित्री भण्डारीको सम्मानमा उहाँका छोरा विश्वप्रकाश शर्मा परिवारले सेवा केन्द्रलाई तपस्याधाम निर्माणका लागि मेचीनगर ९ स्थित लिलाबस्तीमा ५ कठ्ठा जमिन प्रदान गरेसंगै सो स्थानमा तपस्या धाम निर्माण गरिएको हो ।
ब्रम्हाकुमारी राजयोग धुलावारीको रजत जयन्ती, मधुवन तपस्याधाम उद्घाटनको तयारी



















