काठमाडौैं ५ कात्तिक । पार्टीको १५ औं महाधिवेशन नभए कांग्रेसका दुई महामन्त्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार नबन्ने भएका छन् । निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफूहरू उम्मेदवार नबन्ने स्पष्ट चेतावनी दिएका हुन्।
शुक्रबार बिहान संस्थापन महाधिवेशन माग गर्दै केही दिनअघि ज्ञापन पत्र बुझाएका २५ जना केन्द्रीय सदस्यहरूसँगको छलफलमा महामन्त्रीद्वयले निर्वाचनअघि महाधिवेशन आफूहरुको बटमलाइन भएको भन्दै महाधिवेशन नभए निर्वाचनमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेको भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले बताएका छन् । महाधिवेशनबिना नयाँ कांग्रेस बन्न नसक्ने र निर्वाचनमा नयाँ कांग्रेस बनाएर जानुपर्ने उल्लेख गर्दै महाधिवेशन नभए निर्वाचनमा उम्मेद्वार नबन्ने दोहोर्याएका हुन् ।
२५ केन्द्रीय सदस्यले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए। ती मागमध्ये मुख्य माग हो– १५ औँ महाधिवेशनको प्रक्रिया मङ्सिरमै सुरु गर्ने र सम्भव भए पुस मसान्तभित्रै सम्पन्न गर्ने थियो । बिहीबार सभापति शेरबहादुर देउवा र शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटिसकेका ती केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयसँग पनि छलफल गरेका हुन्।
कांग्रेसभित्र महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा गम्भीर मतभेद छ। यही विवादका कारण गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पटक(पटक स्थगित हुँदै अनिर्णीत बन्दै आएको छ। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको अवस्थामा महाधिवेशन समयमै नभए पार्टीभित्र ठूलो विद्रोह हुन सक्ने संकेत महामन्त्रीद्वयको अभिव्यक्तिले देखाएको छ।
निर्वाचन अघि महाधिवेशन नभए कांग्रेस महामन्त्रीहरु चुनाव नलड्ने

































































































