काठमाडौं ३० असोज । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरेको छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव घोषणा भएपछि आयोगले पहिलो पटक सर्वदलीय छलफल गरेको हो ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गएको पालिका चुनावमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलहरूलाई आउँदो चुनावको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।
आजको छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसहित विभिन्न दलका प्रतिनिधिहरू सहभागी भएका आयोगले जानकारी दिएको छ ।
छलफलका क्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले चुनाव घोषणा भई तयारी शुरू भएकोले चुनावको वातावरण सिर्जना गरी सक्रिय हुन दलहरूलाई आग्रह गर्नुभएको छ ।
गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आउँदो फागुन २१ गतेका लागि चुनाव तोकिएको छ ।
निर्वाचन आयोगद्वारा दलहरुसंग छलफल

































































































