बिर्तामोड १९ असोज । शनिबारदेखि परेको अबिरल पानीका कारण झापाका विभिन्न नदि तथा खोलामा बाढी आउँदा लगभग ५ हजार ४८१ घर परिवार विस्थापित भएका छन् । डुवानबाट प्रभावित ६ वटा पालिकाका ५ हजार ४८१ घरका २५ हजार २३१ जना बढी मानिस विस्थापित भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

डुवान प्रभावित मध्ये झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकामा बाढीको प्रभाव बढी देखिएको छ । ७ वटा वडा रहेको झापा गाउँपालिकाका ६ वटा वडाका स्थानीय बाढीबाट प्रभावित भएका छन् । झापा गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६ र ७ वडाका स्थानीय डुवानमा परेका छन् भने शिवसताक्षीका ४ वटा वडा, गौरीगञ्जको १ र २ नं. वडा, अर्जुनधारा नगरपालिकाको ७ नं. वडा, गौरादहको ५ नं. वडा, भद्रपुरको ५ नं. वडाका केही बस्तीहरुमा डुवान भएको हो ।
डुवानबाट अन्य क्षतिका बारेमा विस्तृत विवरण केही दिन पछि आउने बताइएको छ । तत्कालका लागि डुवान प्रभावित क्षेत्रमा उद्दारमा खटिनुपर्ने भएकोले तथ्याङ्क सार्वजनिक गरेको प्रहरीका भनाई छ ।
विस्थापितलाई नजिकै आफन्तकोमा तथा सामुदायिक विद्यालयमा राखिएको बताइएको छ भने कतिपय भने डुवान भएपनि आफ्नै घरमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।