Homeसमाचारपार्टी रुपान्तरणको चर्चा

पार्टी रुपान्तरणको चर्चा

पृष्ठभूमि
लगभग ९ दशकको राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसमा पार्टी रुपान्तरणको पक्ष र विपक्ष दुवैखाले विचार देखिएको छ । जेन–जी आन्दोलनपछि नेकपा एमाले र नेकपा माओवादीमा पनि नेतृत्व परिवर्तनको कुरा तिब्ररुपमा उठेको छ । जेन–जी भनेको पुस्ता हो, विचार होइन । १३ देखि २८ बर्ष उमेर समूहका युवायुवती जेनजी समूहमा पर्छन् । फरक सोच, फरक विचार र जोशसमेत रहेका यो उमेर समूह सबै पार्टीमा छन् । सो उमेर समूहको चाहना बमोजिम उनीहरुलाई समेत सहभागी गराएर संगठन निर्माण गरिनुपर्ने विचार कांग्रेस, एमाले, माओवादी लगायत सबै दलमा उठेको छ । अझ लामो समयदेखि सरकार र सत्तामा आलोपालो नेतृत्व गरेका यी तीन दलमा भने प्राथमिकताका साथ यो विषय उठिरहँदा नेतृत्वमा रहेकाहरु भने सहजै आफ्नो विरासत छोड्न तयार देखिएका छैनन् ।
कांग्रेसमा हस्ताक्षर संकलन :
आफूलाई परिवर्तन पक्षधर बताउने महामन्त्रीद्वयले विशेष महाधिवेशनको पक्षमा जनमत जुटाउन महाधिवेशन प्रतिनिधिहरुबाट हस्ताक्षर संकलन शुरु गरेका छन् । पार्टीको विधानमा विशेष महाधिवेशनको ब्यवस्था छ । विधानको ब्यवस्था बमोजिम पार्टी रुपान्तरणको पक्षमा अर्थात विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको स्रोतको दावी छ । यद्यपि विधानको ब्यवस्था बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरे विशेष महाधिवेशन गर्न मिल्छ ।
नेपाली कांग्रेसले यही असोज २८ गतेबाट केन्द्रीय समिति बैठक आह्वान गरेको छ । वैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टी रुपान्तरण, नेतृत्व परिवर्तनकै कुरा प्राथमिकताका साथ उठ्ने अपेक्षा छ भने मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनका विषयमा समेत निर्णय हुने अपेक्षा परिवर्तन पक्षधरले राखेका छन् ।
नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित नेतृत्वको कार्यकाल चारबर्षको हुन्छ । विधानको ब्यवस्था बमोजिम एकबर्ष थप गर्न मिल्ने र विशेष अवस्थामा अरु छ महिना थप गर्न मिल्नेसहित साढेपाँच बर्षभित्रमा महाधिवेशन सक्नैपर्ने प्रावधान विधानले तय गरेको छ । यद्यपि नेपाली कांग्रेसको इतिहास हेर्दा हालसम्म चारबर्षमै महाधिवेशन भएको छैन । टोल–वडादेखि जिल्लातहको चारबर्ष पुरा हुनै लागेको छ भने प्रदेश र केन्द्रको केही समय वाँकी छ । यो समयमा सबै तहको नियमित महाधिवेशन गर्ननसके विशेष महाधिवेशनमार्फत केन्द्रीय नेतृत्व फेर्नुपर्ने दवाव परिवर्तन पक्षधरको छ । हस्ताक्षर संकलनमा हस्ताक्षर गर्नेहरुले नगर्नेलाई पुरातनवादीको आरोप लगाइरहेका छन् । देशभरमा ५१ प्रतिशत बढीले हस्ताक्षर गरिरहँदा झापामा भने १३५ महाधिवेशन प्रतिनिधिमध्ये ६७ जनाले हस्ताक्षर गरेका छन् । अधिकांश जिल्लामा ५१ प्रतिशतदेखि ९६ प्रतिशतसम्मले हस्ताक्षर गरेको रुपान्तरण पक्षधरको दावी छ ।
ओलीको पछि नहट्ने अडान :
नेकपा एमालेको सचिवालय बैठकमा पनि केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय प्रमुखकता साथ उठेको छ । १९ सदस्यीय सचिवालय समितिभित्र १० जना ओलीको राजीनामाको पक्षमा रहेको र ९ जना केपी ओलीकै समर्थनमा रहेको पार्टी स्रोतले जनाएको छ । सडक आन्दोलनबाट सत्तापलट भएपछि ओलीको राजीनामा र पार्टी रुपान्तरणको पक्षमा एमाले कार्यकर्ता देखिएपनि ओलीले भने अध्यक्ष पद नछाड्ने अडान लिएका छन् । पार्टीभित्र र बाहिर राजीनामा दिनुपर्ने दवाव बढिरहँदा सचिवालय बैठकले ओलीले ‘मैले किन राजीनामा दिने ?’ भनेर प्रतिप्रश्न गरेको बैठकमा सहभागी एक नेताले बताए । आन्दोलनका क्रममा ओलीको बालकोटको घर पूर्ण रुपमा जलेपछि गुण्डुमा डेरा बसिरहेका ओलीले गुण्डुमै सचिवालय वैठक राखेका थिए । हाल उनीमाथी सरकारले पासपोर्ट रोक्का गरेको भने राजधानी बाहिर निस्कन समेत बन्देज लगाएको छ ।
बैठकका क्रममा योगेश भटराई र गोकर्ण विष्टले ‘अब तपाईले सम्मानजनक निकास दिएर पुनर्गठनको बातावरण निर्माण गर्नुपर्छ भन्ने मत दुवै जनाले राख्नुभयो,’ स्रोतले भन्यो । अध्यक्षबाट राजीनामा गर्दा स्वयं ओली र पार्टीको पनि हित हुने उनीहरूको मत थियो । ‘सम्मानजनक निकासले तपाईंलाई पनि हित गर्छ, पार्टीको पनि हित हुन्छ । यो बुझ्नुपर्छ’–उनीहरुले भनेका थिए ।
‘बाहिरी शक्तिहरूले हाम्रो जस्तो मुलुकमा खेल्न खोजिरहेकै हुन्छन् । उनीहरूले पटकपटक अस्थिरता पैदा गर्न खोज्छन्,’ विष्टले भनेका थिए, ‘तर त्यस्तो चलखेलबाट जोगिने कामको नेतृत्व सरकारले गर्नुपर्ने हो, त्यसो हुन सकेन ।’ सडकबाट सत्तापलट हुने तहको घटनाबारे सूचना लिन नसक्नु, सावधानी अपनाउन नसक्नु शासकीय अयोग्यता रहेको तर्क विष्टले गरेका थिए ।
ओलीले इतिहासमा केही मानक निर्माण गरेको र त्यसलाई स्थापित गराउन पनि सम्मानजनक निकासको मार्ग प्रशस्त गर्नुपर्ने योगेश भट्टराईको तर्क थियो ।
राजीनामा दिएर अभिभावक रहने प्रस्तावलाई ओलीले अस्वीकार गरेको नेताहरू बताउँछन् । ‘जे गर्नुपर्ने हो, त्यो महाधिवेशनबाट हुन्छ,’ ओलीले महाधिवेशन फेस गर्ने बताउँदै भने, ‘मैले केही कमजोरी पनि गरेको छैन, अहिले छोड्नुपर्नेगरी ।’
जेनजी पुस्ताको विद्रोहका कारण परिस्थिति परिस्थितिमा समेत एमाले नेतृत्व नछोड्ने ओलीको अडानमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका पदाधिकारीको समर्थन गरेपनि बाँकी बहुमत पदाधिकारीले नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्ने पक्षमा थिए ।
ओलीले महाधिवेशन फेस गर्ने निर्णय सुनाइरहँदा सचिवालय बैठकले मंसिर अन्तिम साता एघारौं महाधिवेशन गर्ने निर्णय गरेको छ । असोज २९ गतेदेखि बस्ने एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न निर्णयहरु गर्ने र नेतृत्वको निर्णय महाधिवेशनले गर्ने एमाले स्रोतले जनाएको छ ।
माओवादीको महाधिवेशन मंसिरमा :
नेकपा माओवादीले जेन जी आन्दोलनपछि केन्द्रीय समिति भंग गरी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै मंसिरमा महाधिवेशन गर्ने निर्णय गत असोज ११ गते सम्पन्न बैठकले गरेको छ । विशेष महाधिवेशनको मिति पार्टीको सचिवालय बैठकले तोक्ने बताइए पनि हालसम्म तोकिएको छैन । प्रचण्डले विधिसम्मत तरिकाबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएपनि केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर त्यसको नेतृत्व गरिरहँदा भोलीको नेतृत्व को हो ? भन्नेमा संशय छ । ‘अहिले नै कुनै निश्चित विधिविना प्रचण्डले नेतृत्व छाड्नुहुन्न भन्ने स्पिरिटमा सबैले धारणा राख्नुभयो । अध्यक्षले पनि आगामी विशेष महाधिवेशनबाट कसले छाड्ने, को रहने भन्ने कुराको निक्र्यौल गरौँ भन्नुभयो । यसमा सबैको समर्थन रह्यो,’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भनेका थिए । बैठकबाटै महाधिवेशनको मिति तय गर्नुपर्ने विषय उठेपनि सचिवालय वैठकले परिस्थितिको अध्ययन गरेर मिति तोक्ने सहमति भएको थियो । माओवादीको सचिवालयमा पूर्व पदाधिकारी रहन्छन् ।
नियमित अधिवेशन कि महाधिवेशन ? गर्ने भन्ने विषयमा छलफल हुँदा चुनावअघि सवै तहको अधिवेशन सम्भव नहुने निष्कर्षसहित विशेष महाधिवेशन चुनावअघि सम्पन्न गरेर वैचारिक रूपमा एकजुट भएर चुनावमा जानुपर्छ भन्नेमा केन्द्रीय समितिमा एकमत भएको विनोद पहाडीले बताए ।
निष्कर्ष :
आलोपालो गर्दै लामो समय सत्तामा बसेका तीन दल कांग्रेस, एमाले र माओवादीको विशेष महाधिवेशनको चर्चा चलिरहँदा अबको नेतृत्व कसले लिने ? प्रश्न छ । पार्टीभित्र पहिलो पुस्ताका नेताहरु आफ्नो विरासत सजिलै छोडेर अभिभावक बन्न तयार छैनन् भने दोस्रो पुस्ता मौन छ । महाधिवेशनमा दोस्रो पुस्ताले आफैं नेतृत्व खोज्छ ?, पहिलो पुस्तालाई सघाउँछ ? वा तेस्रो पुस्तालाई सघाउँछ ? भन्ने अन्योल छ । तेस्रो पुस्ता जसरी पनि युवाहरुलाई नेतृत्व दिएर पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने पक्षमा छन् । यी तिनै पुस्ता जेन–जी उमेरका होइनन् भने जेनजी पुस्ता पनि आफ्नो सहभागिताको मौका कुरिरहेको छ । अधिकतम युवाहरुको सहभागिता गराएर पुरातनवादी सोच त्याग्नुपर्ने रुपान्तरण पक्षधरको माग र हिजो राणादेखि पञ्चायती शासकहरुसँग डटेर लडेका पुराना पुस्ताको सम्मान गर्नुपर्छ भन्ने पुरानो पुस्ताको धारणाका बीचबाट नेतृत्व चुन्नुपर्ने अवस्था सबै पार्टीमा देखिन्छ । यसरी चुनिएको नेतृत्वले अग्रजको सम्मान, समकालीनको साथ र अनुजलाई प्रोत्साहन गर्दै पार्टीभित्रको गुटगत राजनीति समाप्त पार्नसकेमात्रै राजनीतिक दलहरुको भविष्य सुन्दर हुने अपेक्षा गर्न सकिन्छ । अन्यथा रुपान्तरणको नारा नारामै सीमित नहोला ? भन्न सकिन्न ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपार्टी रुपान्तरणको चर्चा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img