बिर्तामोड १८ असोज । जिल्ला प्रशासन कार्यालय झापाले आजदेखि तीन दिनसम्म ठुलो पानी पर्ने भएकाले बाढीको जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ । शनिबार जिल्ला प्रशासन कार्यालय झापाले आज असोज १८ गतेदेखि १९ र २० गतेसम्म कोशी प्रदेश लगायत देशभर ठुलो पानी पर्ने जल तथा मौसम विभागको पूर्वानुमानलाई आधार मानेर नागरिकलाई लामो दुरीको यात्रा नगर्न, मेची, विरिङ, कनकाई लगायतका खोला किनारमा रहेका घर परिवारलाई आफुले प्रयोग गर्ने औषधि, कपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना लगायतका बहुमुल्य वस्तुहरु हिड्न सक्ने गरी पोको पारेर तयारी राख्न अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको हस्ताक्षर रहेको सूचनामा झापाबाट काठमाडौँ जाने सडकहरु भत्किएका, जोखिममा रहेका र रात्रिकालिन यातायात बन्द रहेको छ । बाढीको जोखिमका घरपरिवारलाई वडा कार्यालयले तोकेको स्थानमा सुरक्षितका लागि तयारी रहन, उद्वारका लागि सबै सरोकारवाला निकायलाई विद्यालय, सामुदायिक भवन सरसफाइ गर्न र विपदमा सहयोग गर्न उद्योगी, व्यवसायी लगायत संघ–संस्थालाई आग्रह गरिएको छ ।
लामो दुरीको यात्रा ३ दिनलाई बन्द
सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।
तमोर नदी नजिकै गाडी खस्यो
पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ ।
स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् । दुर्घटना स्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले बताए ।
‘हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनुस,’ ढकालले भने ।
प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ ।