HomeFeatured 2प्रधानमन्त्री शुशिला कार्कीको पदभार ग्रहणपछिको सम्बोधनको पूर्ण पाठ

प्रधानमन्त्री शुशिला कार्कीको पदभार ग्रहणपछिको सम्बोधनको पूर्ण पाठ

यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डल गठन हुनुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन पुगेको छ । देशभरीमा ४० जना जति युवा युवतीहरुले मृत्युवरण गर्नुपर्‍यो । र, सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै जिल्ला अदालतहरु, उच्च अदालतहरु लगायत सिंहदरबार समेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गयो । हाम्रा रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को एउटा समस्या, ठूलो समस्या । भौतिक क्षतिले केही हुँदो रहनेछ । त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ ।
हाम्रा सुरक्षा निकायमात्र जलेन, सुरक्षाकर्मीहरुको पनि देहावसान भयो । अहिले हाम्रो सम्पूर्ण देशभरिका सुरक्षाकर्मीहरुलाई दिएका बाहनहरु अर्को खरिद नगरी नहुने अवस्था विद्यमान छ ।
यस घडिमा मलाई अलिकति लागेको कुरा के हो भने यसपल्टको जुन हत्या हिंसा भयो, चाहे हत्या होस्, चाहे आगजनीका कुराहरु भएका छन्, यो टिपिकल कस्तो भने मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानीछानी प्रहार भएको छ ।
प्रहरीहरु सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो । बिटहरु, प्रहरीका चौकी, थानाहरु सबै जले । अदालतका फाइलाहरु सम्पूर्ण नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौं त्यस्ता पुराना फाइलहरु सबै नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए ?
अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? आगजनी र लुटपाट गर्नेलाई कारबाही हुन्छ
मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो । त्यसैले यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।
अनुसन्धान हुन बाँकी छ । र, अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई यसरी नोक्सान गर्नेहरुलाई अपरिहार्य वस्तु, अत्यन्त आवश्यक बस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ ।
विवश हुनुपर्‍यो
मैले भनें एकातिर एउटा यो परिस्थिति छ भने अर्कोतिर जुन परिस्थितिमा म आएँ । कुनै रहरले म आएको होइन । सडकबाट जताततैबाट मलाई, फलानालाई, सुशीला कार्की,लाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो । जहाँसम्म मेरो जुन टिम छ, टिमले जुन काम गरिराखेको छ, हामी कुनै यो सत्ताको, पदको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।
हामीले के चाहेको हो भने ठीक छ हाम्रो खोजी गरियो, यो बेलामा हामीले किन सेवा नगार्ने भनेर सक्दो हामीले के गर्‍यौं भने ६ महिनामात्र अवधि, त्योभन्दा बढी नबस्ने । कुनै हालतमा भए पनि पूरा हाम्रा कामकारबाही गरेर हामी मुक्त हुने र, नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं ।
मलाई जहाँसम्म लाग्छ, यो अठोटमा यहाँहरुको साथ नपाइकन सम्भव छैन । सुरक्षा निकायले पनि हामीलाई साथ नदिइकन यो सम्भव छैन । त्यसैले गर्दा हेर्नुस्, मलाई सहयोग गर्नुस् । हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ, मैले त मुख्य सचिवज्यूलाई पनि हिजो–अस्ती नै भनेँ– किन आफैं, आफ्नैतर्फबाट, मुलुकका जनताबाट पहल गरेर त्यो कुराहरुको पूरा निक नगर्ने ?
सानो भए पनि तिनो भए पनि तराईमा किन बाँसका भाटा जोडेर प्रहरीको बिट किन नबनाउने रु सस्तो, कामचलाउ भए पनि त पुग्छ, त्यो हामी किन नगर्ने ?
अपराधिहरुको चुनौतिविरुद्ध एकताबद्ध हुन अपिल
जस्तो भूकम्प आयो २०७२ को यो सिंहदरबार रेट्रोफिट भएको कयौं रुपैयाँ खर्च भएर । अँस्तीको कुरा हो । त्यो जुन मुलुकको पैसा खर्च भएको छ, त्यो खर्च अहिले पूरा पनि भएको छैन । सर्वोच्च अदालतमा त्यतिबेला म थिएँ । त्यतिखेर न्यायाधीश थिएँ । त्यो कति दुस्ख गरेर रेट्रोफिट गरेको । त्यो भवनलाई राम्रोसँग युज पनि नगरेर, उपयोग पनि नगरेर अहिले जलेर भष्म भएर त्यस्तो अवस्थामा पुगेको छ ।
यो अपराधिहरुले गरेको हामीमाथिको चुनौति हो । यो मुलुकको विरुद्ध गरेको चुनौति हो । त्यो चुनौतिलाई तपाईं–हामी सबैले मिलेर, जुटेर, एकताको भावना राखेर हामीले आफ्नोतर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ कि‍‍‘।
म हिजो चक्रपथनेर भाटभटेनीनेरको बिटमा पुगेको थिएँ । म त्यहाँ माथि चढेँ, हेरेँ । मैले सबै कुरा सुनेँ, उत्रिएँ । व्यापारीहरुको ठूलो समूह त्यहाँ भेला भयो । उनीहरुले के भने भनेदेखि सम्माननीयज्यूले यसमा कुनै चिन्ता लिनु पर्दैन । हामी छौं, यो सुरक्षा हामीलाई चाहिने हो । यति ठूलो फटाइँ भएको छ, हामी यसलाई पूरा गर्नेछौं । तपाईंहरुले धन्दा मान्नु पर्दैन, यो हाम्रो जिम्मा भयो, हामी गर्छौं भनेपछि मैले पनि उहाँहरुलाई धन्यवाद दिएँ । किनभने कमसेकम राज्यको एउटा सानो कोष त बच्यो ।
अनि उहाँहरुले के भन्नुभयो भने तपाईं त वकिलबाट आएको हो । सर्वोच्च अदालत त वकिलबाट चल्ने हो, वकिललाई भन्नुस् न भन्नुभयो । भनेर हुने त होइन । सर्वोच्च अदालत बन्नलाई त । धेरै पैसा लाग्ने अवस्था छ ।
त्यसकारण जेहोस्, हामी सबैजना मिलौं । एकले अर्काको आलोचना गर्ने काम नगरौं । यो बीचमा हामी युनाइट होऔं ।
युवाका माग पूरा गर्ने अठोट
आगामी दिनहरुमा जेनजी युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई बडो विचित्र लागेको छ । यो मुलुकमा जुन एउटा मुभमेन्ट आयो, वर्ल्डमा कहीँ पनि भाछैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताको कुराहरु माग गरेको हुनाले त्यो पूरा गर्नलाई तपाईं हामीहरुले अठोट गर्नुपर्ने अवस्था छ । क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाइइने छ ।
मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख
२३ गतेको दिन मृत्युवरण गर्ने नाबालकहरु, स्कुल कलेजका विद्यार्थीहरुको सम्बन्धमा, उहाँको परिवारहरुलाई मैले भेट्ने काम गरेँ । मलाई पनि दुस्ख लाग्यो, उहाँहरुको आँशु देखेर । बहुतै दुःख लाग्यो । अनि मलाई के फिल भयो भने एउटा परिवारको सदस्यको अन्त्य भएको छ, अनि तिनले राज्यसँग थापेर मलाई केही सहयोग गर, मेरो घरमा यत्रो नोक्सान भयो, ज्यान गयो भनेर भन्नुभन्दा पहिले राज्यले नै यसको पुर्ताल किन नगर्ने ?
मर्न त उहाँहरुको परिवारको मर्‍यो, त्यसपछि उहाँहरुमा विपन्नता आउँछ कि, त्यसले गर्दा हामीले, मुख्य सचिवज्यू र म ९ बजे–१० बजेसम्म सरसल्लाह गर्‍यौं । त्यसपछि आज मैले यहाँ आएर उहाँहरुलाई शहीद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेँ । हाम्रो यहाँको सिस्टम नै आर्थिक अवस्था देश अनुसारको हुन्छ, १० लाखको लिमिटेसन छ । त्यो १० लाख प्रदान गर्ने हामीले निर्णय गर्‍यौं ।
घाइतेहरुलाई पनि उपचार र केही राहतको पनि केही निर्णय गरेका छौं । यसको अतिरिक्त अरु कुराहरु पनि मुख्य सचिवज्यूहरुले हेक्का राख्नु भएको छ त्यो कुराको ।
मृतकका परिवारलाई काठमाडौं बस्दाको खर्च दिने, घाइतेलाई पनि सहयोग गर्ने
अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने । मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ । र पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं । प्राइभेट सेक्टरमा पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरुले कोसिस गरिरहनु भएको छ ।
त्यस्तो घाउ भएको मानिस, चोट परेको व्यक्तिलाई हामीले मल्हम लगाउनु नै पर्छ । किनभने यो हाम्रै इस्यू हो, हाम्रै मामला हो । हाम्रै छोराछोरी हुन्, हाम्रै सन्तान हुन् । त्यसैले उनीहरुलाई अन्यथा मान्ने, दुखी बनाउने सोच कहिले रहेन । अब क्रमशः सदगतको लागि हाम्रो तयारी हुन्छ । पोष्टमार्टम भइसकेको जसको शव छ । उनीहरुलाई आफ्नो घरको क्षेत्रमा लान चाहनेहरुलाई व्यवस्था पनि गरिदिने र यतै शवको दाहसंस्कार गरिदिने हो भने त्यो अब बाटो खुल्छ । अब सबै पक्ष मिलेर नेपालको निर्माण गरौं । अहिले हामी विषम आर्थिक परिस्थितिमा छौं । जनता पनि विषम आर्थिक परिस्थितिमा छ, हाम्रो सरकार पनि विषम आर्थिक परिस्थितिमा छ । हामी के गर्न सक्छौं, कसो गर्न सक्छौं, त्यसमा विचार गरेर हामी निर्माणमा प्रयासहरु गर्नेछौं ।
व्यक्तिगत सम्पत्ति क्षति भएकालाई पनि सहयोग गर्ने
सबभन्दा दुःखको कुरा के भएको छ भने यो जुन किसिमको आतंकजस्तो २४ गते फैलाइयो, व्यक्तिका घर, व्यक्तिका सम्पत्ति अनि प्रमुख सुरक्षा निकायदेखि लिएर राज्यको मुख्य सचिवालय जस्तो, अदालतहरु जस्तो निकाय, सम्पूर्ण जलाउने काम भयो । त्यसको अतिरिक्त एउटा दुस्खान्त घटना पनि घटेको छ । व्यक्तिको सम्पत्ति, व्यापारीहरुको, इन्टरप्रिनरहरुको उद्योगीहरुको सम्पत्ति पनि डढाउने, नास्ने, मास्ने काम भएको छ । तिनलाई पनि हामीले जसरी उभिन्छौ उभियौ भनेर सोच्न भएन ।
किनभने व्यक्तिगत सम्पत्तिको क्षति भएर कतिपय व्यापारी त अब उठ्न नसक्ने अवस्थामा पुगेका छन् । त्यसमा पनि राज्यले विचार गर्छ । हामी विचार गर्छौं कि उनीहरुलाई कसरी सघाउने ? कुन सहयोग दिने ? बैंकको सफ्ट लोनहरुबाट हुन्छ कि अन्य केही गरेर हुन्छ । सानासा व्यापारीहरु पनि, सटर खोलेका व्यापारीहरु पनि लुटिएका छन् ।
उद्योगी व्यापारीहरुलाई धन्यवाद
एक त आज बिहान मैले न्यूजमा पढेँ कि जो व्यापारीहरुको नोक्सान भएको छ उहाँहरुले भन्नु भएको छ कि हामी उठ्ने कोसिस गर्छौं, हामी हार्दैनौं । हामी हार्दैनौं भन्नु भएको छ । त्यसैले त्यत्रो आन्तरिक बल देखाउनु भएकोमा म उहाँहरुलाई धन्यवाद पनि दिन्छु र शुभकामना पनि दिन्छु । जसरी आतंक जस्तो जलाएर खरानी बनाउने काम गरियो, त्यसको बाबजुद पनि म उठ्छु भनेर जुन किसिमको अठोट गर्नु भएको छ, त्यसको निम्ति शुभकामना र धन्यवाद छ ।
र, राज्यको तर्फबाट उहाँहरुलाई सल्लाह चाहिने हो कि कुन किसिमबाट सहयोग गर्ने हो त्यो हामी पछि विचार गर्ने छौं ।
(२०८२ भदौ २९ गते आइतबार पदभार ग्रहणपछि प्रधानमन्त्री सुशीला कार्कीले गरेको सम्बोधनको पूर्णपाठ ।)

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रधानमन्त्री शुशिला कार्कीको पदभार ग्रहणपछिको सम्बोधनको पूर्ण पाठ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img