Homeसमाचार२० वर्षदेखि पातसंग खेल्दै

२० वर्षदेखि पातसंग खेल्दै

उमेरले ६ दशक पार गरेकी गंगा विगत २० वर्षदेखि पातसंग खेल्दैछिन् । आमाले दिएको पातसंग खेल्ने प्रेरणाले धेरैसंग चिनाउने मात्र होइन । उनी निर्बिकल्प झैं भएकी छन् । आमाले दिएको प्रेरणा र सिप अहिले बरदान सावित भएको छ । अहिले सोह्र श्राद्धको सिजन चलिहेको छ । पितृउद्धारका लागि गरिने श्राद्ध कर्ममा दुना र टपरी अनिवार्य झै मानिन्छ ।

रेजिना गौतम
झापा भदौ ।
परम्परागत सिपमा प्रविधिको प्रयोग भित्रियो भने त्यो सिप आफैं लोप भएर जाने धेरैको गुनासो सुनिन्छ । एकहदसम्म यो सत्य पनि हो । नेपालको सन्दर्भमा त्यस्ता धेरै परम्परागत सिप प्रयोग गरेर दैनिकी धानिएका पिता पूर्खाका सिपहरु आँखै अगाडि बिलाएर गएका पनि छन् । यसो भनिरहँदा विर्तामोड–४ की गंगा बस्नेतलाई भने त्यही परम्परागत सिपले छोडेको छैन ।
न ठूलो लगानी होस् न बजार नै खोज्न परोस् । उनको परम्परागत सीप खोज्दै ग्राहक घरैमा आइपुग्छ । गंगाको अरु कुनै ठूलो लगानीको व्यापार होइन, सीप मात्र हो । जब श्रीमानले उनीमाथि सौता हाले तब उनलाई ठूलो बज्रपात भएको महशुस भयो । साना नानीहरु, कामजोर आर्थिक अवस्था । त्यो बेला उनलाई निकै सकस थियो । तर, माइतीको साथ पाएकी गंगाले कसो कसो गरेर खुट्टा टेकेको विगत सुनाइन् ।
५० को दशकतिर बिर्तामोडस्थित कृष्ण हल जाने बाटो किनारमा पान पसलको सानो घुम्ती थियो उनको । त्यो पनि बाटो विस्तारसंगै विस्थापित हुनुप¥यो । त्यो पछि पुरानो भद्रपुर रोडमा पुगिन् । जहाँ नजिकैको सुकुम्बासी बस्तीमा सानो टुक्रा ऐलानी जग्गा थियो । त्यही जग्गामा खाँबो खुट्टी गाड्ने सोच बनाइन र भद्रपुर रोडमा पुगिन् । सहाराको रुपमा रहेको घुम्तीलाई आफूसँगै लगेपनि पानपसल चाहिं छाडिन् ।
साना छोराहरु हुर्काउने, पढाउने, जिम्मेवारी त छँदैथियो ऐनकेन प्रकारेण पान पसलबाट चल्दै आएको गुजाराबाट पनि विमुख हुनुपरेपछि जिम्मेवारीको चुनौति थप बोझिलो भयो उनका लागि । सुकुम्बासी बस्तीमा रहेको तीनधुर जमिनमा खाँबो गाडिन् । त्यहीबेला उनकी आमाले त्यत्तिकै बस्नु हुँदैन भन्दै परम्परागत सीपतर्फ उन्मुख गरिन् ।
उमेरले ६ दशक पार गरेकी गंगा विगत २० वर्षदेखि पातसंग खेल्दैछिन् । आमाले दिएको पातसंग खेल्ने प्रेरणाले धेरैसंग चिनाउने मात्र होइन । उनी निर्बिकल्प झैं भएकी छन् । सिपको पुस्तान्तरण गर्न नसकेकी उनले छोडौ भन्दापनि ग्राहकले धर नदिएको बताउँछिन् ।
त्यही पेशामा अडिएकी गंगालाई उनै आमाले दिएको प्रेरणा र सिप अहिले बरदान सावित भएको छ । नजिकैको कृषि उपज बजारमा जान्छिन् र आवश्यक कच्चा पदार्थ सालको पत्ता किनेर ल्याउँछिन् । अनि आफनो सिप भर्छिन र आउने ग्राहकलाई दिन्छिन् । अहिले सोह्र श्राद्धको सिजन चलिहेको छ । पितृउद्धारका लागि गरिने श्राद्ध कर्ममा दुना र टपरी अनिवार्य झै मानिन्छ । यद्यपि पछिल्लो समय दुना टपरीको बैकल्पिक भाँडा पनि निस्किएका छन् । तैपनि दुनाटपरीको व्यापारमा कुनै कमी नभएको बताउँछिन् गंगा । उनी भन्छिन्, ‘मलाई जहिले भ्याई नभ्याई हुन्छ । म त भ्याउँदिन अन्तै भन्नु भन्दा पनि धर पाउँदिन ।’ कतिले त पातै लिएर आउने गरेको उनले बताइन् ।
शुरुमा कृषिथोकस्थित एक पसलबाट पात किनेर लगेकी उनले पछि ती पत्ता बेच्नेसंग आफैं सम्पर्क बढाउन खोजिन, ताकि आफूलाई आवश्यक परेको बेला आफैं मगाउन सकियोस् भने । तर, व्यापारीको असहयोगका कारण सफलता पाइनन् । व्यापारीले सम्पर्क गराउनै चाहेनन् । केही पटकको प्रयास असफल भएपछि उनी त्यही पसलमै केन्द्रित भइन पत्ताका लागि । “पात ल्याउनेलाई आफैं सम्पर्क गर्न खोजें तर कहिले छैन भने कहिले गाडी बिग्रिएको छ भने व्यापारीले सम्पर्क गराउनै चाहेनन् ।”
जंगल नजिकै भएपनि एक्लै भएका कारण आफैं जंगल जाने र पत्ता टिपेर ल्याउने आँट गरिनन् त्यसको मुख्य कारण थियो जंगली हात्तीको डर । उनी भन्छिन्, कृषिथोकबाट पात किनेर ल्याएर बनाउछु, पात बेच्नेलाई सिधै सम्पर्क गर्न खोजेको जहाँबाट किनेर ल्याउछु उनीहरुले सम्पर्क गर्नै दिएनन् । नजिकै चारआलीको जंगलमा पत्ता पाउँछ, तर हात्ती लाग्छ एक्लै त जानै सकिदैन नी ।”
घरमा भन्दा घुम्तीमा धेरै बिक्री हुने गरेको बताउँदै उनले भनिन्,–‘घुम्तीमा हुँदा त सबैले देख्थे, बाटो हिड्नेले पनि लान्थे, घरमा त जसले मलाई चिन्थे, मेरा रेगुलर कष्टमर छन् उनीहरु मात्रै आउँछन् । धेरै टपरी चाहिए पहिले नै अर्डर गर्नुपर्ने बताउँदै भनिन्, गाँसेर राख्नै पाउँदिन, धेरै चाहिनेले पहिले नै भन्नुपर्छ, मेरो प्रायः रेगुलर ग्राहक छन्, सबै बराबरी आएपछि त्यसलाई दिनुछ भनेर हुँदैन, सबैलाई चाहिएर, अभर परेर आएका हुन्छन् ।’ वर्षमा कति दुना टपरी विक्री हुन्छ भन्ने आफैंलाई थाहा नहुने बताउने गंगा थप्छिन्, ‘कति जान्छ जान्छ थाहै पाउँदिन ।’
लगानी ठूलो नभएका कारण पनि आम्दानी र खर्चको हिसाब नभएको उनको भनाई छ । एकमुठा पातबाट ठूलो टपरी बनाउँदा दुईवटा र सानो बनाए ५/६ वटा टपरी अनि केही दुना बनाउन सकिने गंगाको भनाई छ । टपरीको साइज (आकार) अनुसार मूल्य निर्धारण हुने गंगाको भनाई छ । उनका अनुसार न्यूनतम प्रतिगोटा १० रुपैयाँदेखि ५० रुपैयाँ तथा स्वयम्बरको टपरीलाई भने ५०० रुपैयाँमा दिने गरेकी छन् । पत्ता प्रति मुठा ५० रुपैयाले खरिद गर्ने गरेको उनको भनाई छ ।
बाह्रैमास टपरीको माग हुने बताउँने उनी अहिले सोह्र श्राद्धको टपरी गाँस्न व्यस्त छिन् । अन्य समयको भन्दा यो समयमा बढी माग हुने गरेको बताउने उनी भन्छिन् , यो सोह्रश्राद्धमा त एउटै घरले २०/२५ देखि ५० वटासम्म खोज्छन्, यो बेला सुपारीको पनि नचलाउँदा रछन् ।

गंगाको घरमा टपरी बोरामा हाल्दै हेमराज

आफ्ना दिवंगत पितृको श्रद्धापूर्वक श्राद्ध गर्नका लागि सोह्रश्राद्ध शुरु हुने पूर्णिमाका दिन गंगाको घरमा भेटिएका हेमराज बुढाथोकीले घरमा गाँस्ने मान्छे नभएपछि खोज्नु परेको बताए । पहिले पहिले प्रत्येक घर घरमा बनाइने दुना टपरी अहिले खोज्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘कतिले कामले गर्दा भ्याएनन् होला, संगसंगै मोवायलमा महिला अल्मलिएर पनि हो ।’ श्राद्धका लागि ५० वटा टपरी र १५० वटा दुना लगेको बुढाथोकीले बताए ।

सुन्दर निचाझोडा सामुदायिक बन क्षेत्रभित्र पात टिप्दै स्थानीय फोटो : खेमराज बराल

तराईका जंगलहरुमा प्रायः सालका बोट हुने भएपनि जंगलसम्म गएर टिपेर ल्याउन निकै चुनौति छ । ठूल्ठूला रुखमा पात टिप्न सकिने संभावना कम हुन्छ । प्रायः सालको पातमा ब्याँगे (एकप्रकारको कमिला) बस्ने गर्छन् । ५/७ वटा ब्याँगेले टोक्यो भने ज्वरो नै फुट्ने स्थानीय बताउँछन् । आफ्नै प्रयोजनका लागि झण्डै १५ वर्षसम्म जलथलको चारकोसेमा सालको पात टिपेर काम चलाएकी मनकुमारी पौडेल भन्छिन्, ‘ठूला बोटमा टिप्न सकिदैन, पोथ्रा (सालका स–साना बोट) खोज्नका लागि टाढा जानुपर्छ, ब्याँगेले टोक्यो भने ज्वरो नै फुटाउछ, त्यसमाथि जंगली हात्ती र अजिंगरको समेत डर हुन्छ ।’
प्रयोग :

दुना र टपरी बनाउनका लागि सालको पत्ता उत्तम मानिन्छ । सालको पत्ता नपाइने ठाउँमा भोर्लाे, बर, नेवारो लगायतका पात पनि प्रयोग गर्ने गरिन्छ । साथै दुनाका लागि स साना पात भएपनि हुने हुँदा गाउँघरतिर टाँकीका पातको प्रयोग गरेर पनि काम चलाउने गरेका छन् । पातहरू जोडेर बनाइने एकपटक प्रयोग भएपछि पुनः प्रयोग नहुने हुँदा दुना टपरीलाई शुद्ध भाँडाको रुपमा लिइन्छ ।
दुनामा तरल वा रसिला परिकार राख्ने गरिन्छ भने टपरी ठुलो आकारको हुनाले भात, तरकारी, मिठाई लगायतका थुप्रै सामग्रीहरु राख्न सकिन्छ । सोह्रश्राद्ध, पूजा वा पुराणादि कार्यमा देवपूजन, ऋषिपूजन र पितृश्रद्धाका लागि प्रयोग गरिन्छ ।

केही महिना अघि मृत्यु भएका आफन्तको दशगात्र कर्म अन्तरगत ११ दिनमा खोचा बगाउने कार्यका लागि दुना र टपरी बनाउँदै ।

प्रयोगको कारण:
धार्मिक, सांस्कृतिक महत्वका सुखद वा दुःखद दुवै र बढी मानिसहरु भेला भएर खानपिन गर्दा, कार्यक्रममा बढी प्रयोग हुने गर्छ । जस्तै : विवाह, व्रतबन्ध, दशैं–तिहार, तीज, सुद्धाई, श्राद्धजस्ता कार्यक्रममा प्रयोग गरिन्छ ।
वातावरणीय दृष्टिले पनि दुना टपरीको प्रयोग उपयुक्त हुन्छ भने एकपटक प्रयोग भएपछि पुनः प्रयोगमा ल्याउन नसकिने भएका कारण भाँडाकुँडा जस्तो माझिरहनु पर्दैन । माटोबाट उत्पादन भएर माटैमा मिल्ने हुँदा यसले वातावरणीय सन्तुलनमा समेत सहयोग पु¥याएको छ । अन्य भाँडाको तुलनामा किन्नुपर्दा कम मूल्यमा पाइने हुँदा सामान्य सिप भएकाहरुले आफैंपनि बनाउन सक्छन् । कीटाणु संक्रमणको सम्भावना कम हुन्छ ।
कहिलेदेखि प्रयोगमा आयो ?
दुना–टपरीको प्रयोग यही समयदेखि आयो भन्ने स्पष्ट तिथि मिति पाइदैन । यद्यपी प्राचीन कालदेखि हुँदै आएको भन्न सकिन्छ । वैदिक विधिपूर्वक गरिने यज्ञ तथा धार्मिक अनुष्ठानहरूमा पनि पातका भाँडाहरू प्रयोग भएको उल्लेख वेद लगायतका ग्रन्थहरूमा भेटिन्छ।
नेपालमा विशेष गरी तराई, पहाड र हिमाली क्षेत्रका परम्परागत भोज र धार्मिक कर्मकाण्डहरूमा शताब्दियौँदेखि प्रयोग हुँदै आएको छ । ठूला ठूला भोज भतेरमा भने पछिल्लो समय कम प्रयोग हुन थालेको देखिन्छ । यसको कारण प्रायः विहे ब्रतबन्ध जस्ता शुभकार्य घरबाट पार्टी प्यालेसतिर सर्नु, प्लाष्टिकका सामग्रीको प्रयोग बढ्नु, शहरी क्षेत्रमा दुना टपरी सहज उपलब्ध नहुनु, कामकाजी भएका महिलाहरुले कार्यव्यस्तता वा अन्य विविध कारणले सामग्री बनाउनतिर ध्यान नदिनुजस्ता कारणले पनि प्रयोगमा कमी आएको हो । समग्रमा प्लाष्टिकजन्य भाँडाकुँडाको उपलब्धता नभएसम्म दुना टपरी अत्यधिक प्रयोगमा आएको थियो ।
यसको प्रयोग धेरथोर अधिकांश समुदायले प्रयोग गर्ने हुँदा दुना टपरीलाई साझा संस्कृतिको रुपमा पनि लिइन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार२० वर्षदेखि पातसंग खेल्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img