Homeसमाचारतीज: आस्था, प्रेम र संस्कृतिको जीवन्त प्रतीक

तीज: आस्था, प्रेम र संस्कृतिको जीवन्त प्रतीक

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आउँदा हरियो र रातो रङ्गले हाम्रो समाज र मनमा एउटा छुट्टै रङ्ग भर्छ। विशेषगरी भाद्र महिनाको शुक्ल पक्षको तृतीयामा मनाइने यो पर्व धार्मिक आस्था, पारिवारिक प्रेम र सांस्कृतिक एकताको अनुपम उदाहरण हो। यो पर्वले प्रत्येक वर्ष महिलाहरूलाई एकै ठाउँमा भेला गराउँछ, जहाँ उनीहरूले आफ्ना सुख–दुःख बाँड्छन्, नाचगान गर्छन् र एक–अर्काको साथमा खुसी साटासाट गर्छन्।
धार्मिक आस्था र अटल विश्वास तीजको धार्मिक महत्व भगवान शिव र पार्वतीसँग जोडिएको छ। पौराणिक कथा अनुसार, पार्वतीले शिवलाई पतिको रूपमा पाउनका लागि भाद्र शुक्ल तृतीयका दिन कठोर व्रत गरेकी थिइन । त्यसैलाई नै हरितालिका तीज भनिन्छ। सोही विश्वासका आधारमा विवाहित महिलाहरू आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निराहार व्रत बस्छन्। त्यस्तै, अविवाहित युवतीहरूले राम्रो जीवनसाथीको कामना गर्दै व्रत बस्छन् । यो व्रत केवल निराहार बस्नु मात्र नभएर आत्मसंयम, त्याग र अटल आस्थाको प्रतीक पनि हो।
तीजका रङ्गीन परम्पराहरू
तीजको रौनक यसका विभिन्न परम्पराहरूबाट झल्कन्छ। दर खाने दिन अर्थात हरितालिका तीजको अघिल्लो दिन महिलाहरू दर खान भेला हुन्छन्। यो दिन मीठा–मसिना परिकार र पक्वान खाएर भोलिपल्टको व्रतका लागि आफूलाई तयार पारिन्छ। दर खाने चलनले महिलाहरूलाई एकै ठाउँमा जम्मा भई रमाइलो गर्ने अवसर दिन्छ।
रातो र हरियो पहिरनः तीजमा रातो र हरियो रङ्गका साडी, चुरा, पोते र टिका लगाउने चलन छ। यी रङ्गलाई सौभाग्य, प्रेम र सुखको प्रतीक मानिन्छ। यी रङ्गहरूले महिलाहरूलाई थप सुन्दर र हर्षित देखाउँछन्।
भजन र नाचगान :
तीजका गीतहरूमा आफ्नो माइतीको याद, दुःख–सुख, सामाजिक व्यङ्ग्य र जीवनका विभिन्न भोगाइहरू समेटिएका हुन्छन्। महिलाहरू सामूहिक रूपमा ((खास गरी मन्दिर) वा सार्वजनिक ठाउँमा भेला भएर नाचगान तथा भजन–कीर्तन गर्छन्, जसले मनमा उमङ्ग र ऊर्जा भर्छ।
आधुनिकतासँगै परिवर्तन हुँदै गएको तीज :
पछिल्ला केही वर्षहरूमा तीजको स्वरूपमा केही परिवर्तन आएको छ। विगतमा तीजलाई विशुद्ध धार्मिक पर्वका रूपमा लिइन्थ्यो भने आज यो महिलाहरूको भेटघाट र मनोरञ्जनमार्फत आत्मियता साटासाटको माध्यम बनेको छ। सामाजिक सञ्जालमा तीजका तस्बिरहरू, रमाइला भिडियोहरू र विभिन्न सन्देशहरूले यसको महत्वलाई अझ बढाइरहेको छ।
जब महिलाहरू होटल वा रेस्टुरेन्टमा भेला भएर तीज मनाउँछन्, तब ‘भड्किलो भयो’ भन्ने जस्ता टिप्पणीहरू सुनिन्छन्। तर, हामीले यो कुरा पनि बुझ्नुपर्छ कि समाज परिवर्तनशील छ। दाजुभाइले रेस्टुरेन्टमा वा पिकनिकमा गेट–टुगेदर गर्दा सामान्य मानिन्छ भने महिला दिदीबहिनीले एकै ठाउँमा जम्मा भएर रमाइलो गर्दा किन त्यस्ता टिप्पणीहरू हुन्छन् ? तीज महिलाहरूको स्वतन्त्रता र खुशीको पर्व पनि हो। यदि उनीहरू कुनै राम्रो ठाउँमा भेला भएर मनाउन चाहन्छन् भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। यसलाई केवल सामाजिक रमाइलोको रूपमा नभई महिलाहरूको शसक्तिकरण र आत्मसम्मानसँग पनि जोडेर हेर्न सकिन्छ।
तीज नेपाली समाजमा महिलाहरूको आस्था, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो। यो पर्वले हामीलाई परम्पराको सम्मान गर्न, पारिवारिक सम्बन्धलाई बलियो बनाउन र महिलाहरूको खुशीलाई महत्व दिन सिकाउँछ। यो केवल धार्मिक व्रतको चाड मात्र होइन, बरु महिलाहरूको आत्म–सम्मान, खुशी र सांस्कृतिक संरक्षणको माध्यम पनि हो। तीजको मर्मलाई कायम राख्दै यसलाई आधुनिक परिवेश अनुरूप मनाउनु हाम्रो दायित्व हो, जसले यस पर्वको गरिमालाई अझ उँचो बनाउनेछ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतीज: आस्था, प्रेम र संस्कृतिको जीवन्त प्रतीक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img