बिर्तामोड २ साउन । नेपाल प्रहरीले विर्तामोडमा लागू औषधको कारोवारीले प्रयोग गर्दै आएको गोदाम फेला पारेको छ । साउन १ गते छापा मारेर इलाका प्रहरी कार्यालय विर्तामोडले त्यो गोदामबाट एकलाख थानभन्दा बढी ट्याब्लेटसहित ठूलो मात्रामा लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरेको अवस्थामा भेटाएको जनाएको छ ।
विर्तामोड–५ का मनकुमार संग्रौलाको दुई तले घरको भुइँतलामा भाडामा दिइएको दुई वटा कोठामा लागू औषधको गोदाम थियो । गोदामबाटै अर्जुनधारा–६ का २५ वर्षीय विनोद घिमिरे पक्राउ परेका छन् ।
उक्त गोदाम विर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेलको औषधि भण्डारण कक्ष भएको बताइएको छ । खरेल भने फरार रहेका छन् ।
प्रहरीले गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक लाख तीन हजार ८०० थान, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० थान, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५० थान, डाइक्लोमाइन एचसीएल ट्याब्लेट ९७ हजार ७०० थान, जेनेग्रा एमटी रेड ट्याब्लेट आठ हजार ९०० थान र टर्मिपिल किट्स सात हजार ६५० वटा बरामद गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका घिमिरेलाई लागू औषधको भण्डारण, ओसारपसार र वितरण कसुरमा मुद्धा दर्ता गरेर कानूनी कार्वाही अघि बढाइएको श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिसँगै एउटा मोटरसाइकल र दुई थान मोवाइल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिर्तामोड प्रहरीले हिजो बिहान बिर्तामोड(५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो ।
अर्जुनधारा(११ नारायणचोकको दंगाल मार्केटमा रहेको सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलकै स्वमित्वमा रहेको गोमबाट औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो फर्मा भानुभक्त खरेलको रहेको र उनले मिनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा गोदाममा औषधि भण्डारण गरेको बिर्तामोड प्रहरीका एकजना जुनियर अधिकृतले जानकारी दिए ।
स्थानीयबासीले लागुऔषधको ठुलो कारोबार हुने गरेको थाहा पाएलगत्तै प्रहरीसँगको समन्व्यमा छापा मार्दा ठुलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद भएको हो ।
बिर्तामोडमा लागू औषध भण्डारण स्थल गोदाम फेला

































































































