इलाम २ साउन । धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका १ इलामका ३३ बर्षीय किरण शेर्पा पक्राउ परेका छन् । पक्राउ परेका शेर्पालाई इलाम माईजोगमाई गाउँपालिका २ का २३ बर्षीय प्रकाश चापागाईको छुरा प्रहार गरी हत्या गरेको तथा प्रकाशका दाजु ३२ बर्षीय निरोज चापागाईलाई घाईते बनाएको आरोपमा प्रहरीले शेर्पालाई पक्राउ गरेको हो ।
असार ३२ गते राति सूर्योदय नगरपालिका १ स्थित ससुराली घरमा आएका माईजोगमाई गाउँपालिका २ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भिर घाईते भएका थिए । घाइते निरोजको बिर्तामोड स्थित बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ । हत्या पश्चात फरार भएका शेर्पालाई साउन १ गते सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पक्राउ परेका शेर्पामाथि कर्तव्य ज्यान कसुरमा अनुन्सधान भइरहेको बताइएको छ।
छुरा प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

































































































