अर्जुनधारा ३२ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने बताउनु भएको छ । अर्जुनधारा नगरपालिकामा आज अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सभामुख घिमिरेले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताउनुभयो।
सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गर्दै वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिनेहरुको संख्या बढ्दै गएको बताउनु भयो ।
आज अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई जग्गाको धनीपूर्जा वितरण गरिएको छ। सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो। सभामुख घिमिरेले आजै बिर्तामोड नगरपालिकाद्वारा निर्माण गरिएको प्रशासनिक तीनतले भवनको उद्घाटन गर्नुभएको छ ।
संसदबाट विधेयक पास भएपछि भूमिसम्बन्धी समस्या समाधान हुन्छ : सभामुख

































































































