बिर्तामोड ३१ असार । आफ्नो जन्म दिनमा बिर्तामोड–१ निवासी शिला ढकालले झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार बहुउद्देश्यीय अक्षयकोषमा नगद २१ हजार एकसय एक रुपैयाँ प्रदान गर्नुभएको छ ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलाई रकम हस्तान्तरण गर्दै ढकालले महिला सञ्चारकर्मीहरू शुरु गरेको कोष सहयोग पुगोस् भन्ने सामाजिक उत्तरदायित्वको भावना राखी सहयोग रकम प्रदान गरिएको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले ढकालप्रति आभार प्रकट गर्दै विशेष दिनलाई रचनात्मक कार्यमार्फत अर्थपूर्ण बनाएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले नारी सञ्चार गृहले सञ्चारकर्मी महिलाको हितमा सञ्चालन गरेका कार्यक्रमहरूमा यस्ता सहयोगले थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो।
२०७५ सालबाट शुरु भएको अक्षयकोषमा हाल ५३ लाख ५० हजार जम्मा भइसकेको निवर्तमान अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो । आचार्य नेतृत्वको कार्यसमितिले जिम्मेवारी सम्हालेपछि अक्षयकोषमा सहयोग गर्ने ढकाल पहिलो दाता भएको सञ्चार गृहकी अध्यक्ष आचार्यले बताउनु भयो । रकम हस्तान्तरणका अवसरमा नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष रेजिना गौतम, सचिव दीपा सापकोटा, सहसचिव टीका पोखरेल, कोषाध्यक्ष सुनिरा मैनाली, सदस्यहरू विनिशा शर्मा, चन्दा भट्टराई र सिर्जना नेपालीको उपस्थिति रहेको थियो।
जन्मदिनमा ढकालद्वारा सञ्चार गृहको अक्षयकोषमा २१ हजार एकसय एक सहयोग

































































































