भद्रपुर ७ बैशाख । सहिद मातापिता लगायतलाई सम्मान गर्दै २०६२/६३ को आन्दोलनमा सहिद भएका सहिद राजन गिरी र सुरज विश्वासको स्मृतिमा झापाको चन्द्रगढीमा सहिद राजन गिरी सुरज विश्वास स्मृतिसभा सम्पन्न गरिएको छ ।
नेपाल विद्यार्थी संघ झापाद्वारा चन्द्रगढीमा आईतवार आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वि. पी. कोईराला सहित सहिदद्वयको फोटोमा माल्यार्पण गर्दै सभाको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै नेता सिटौलाले झापा भूमिमा सहिदहरुले प्रदान गरेको साहदत प्राप्त गणतन्त्रको कहिल्यै अन्त हुन नसक्ने भन्दै राजावादीको आन्दोलनको कुनै अर्थ नरहने बताउनु भयो । उहाँले त्यो बेला राजाले सहि निर्णय लिन नसक्दा राजा फालिएको बताउदै वर्तमान संविधानले राजालाई कुनै स्थान नदिएको स्पष्ट पार्नुभयो । उहाँँले आम जनमानसमा राजा फर्किने भन्ने कुराको भ्रममा नपर्न आग्रह गर्दै पुन राजा फर्कनु भनेको राजावादीले दिवा सपना देख्नु मात्र हो भन्नू भयो ।उहाले नारायण हिटि राजदरबार सरकारको निजि सम्पत्ति भैसकेकोले बताउदै यसलाई सरकारले संग्रहालय को रुपमा परिणत गरि सकेको समेत बताउनु भयो । नेता सिटौलाले त्यत्रो सहिदहरुको बलिदान बाट संस्थागत भै सकेको गणतन्त्रको विकल्प अन्य तन्त्र हुनै नसक्नेमा जोड दिनु भयो । सो कार्यक्रममा सहिद पिता केदार शमशेर गिरी,माता मिनु विश्वास , जन आन्दोलनाा घाइतेहरु क्रमशः गोविन्द कडरिया,गोपाल श्रेष्ठ ,सिन्धु उप्रेती तथा २०६२/६३को जन आन्दोलनका विशिष्ट कमान्डर सुधीरकुमार सिवाकोटी लाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । संजय निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गोकुल पौडेलले गर्नु भएको थियो ।
चन्द्रगढीमा सहिद राजन गिरी सुरज विश्वास स्मृतिसभा सम्पन्न



















