इटहरी १२ चैत । सुनसरीको तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन प्रतियोगिता हुन लागेको हो । ‘स्वर्गिय कवि नारायण पौडेल स्मृति तरहराले राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरेका छ ।
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सय पुरस्कार राशी प्रदान गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी दोस्रो हुनेलाई ४१ हजार एकसय, तेस्रोलाई ३१ हजार एकसय र दुईजनालाई शान्त्वना पुरस्कार जनही ११ हजार एकसय प्रदान गरिने बताइएको छ । त्यसैगरी छनोटमा परेका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एकसयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।
वि.स. २०८१ चैत मसान्तम्म निम्न इमेलमार्फत् कविता पठाउन सकिने बताइएको छ ।
प्रतियोगितामा सहभागि हुन कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । गद्य वा पद्यमा दुवैलाई मान्यता दिइने रचना बढीमा तीनसय शब्दसम्मको हुनुपर्नेछ । साथै मौलिक र अप्रकाशित/अप्रसारित हुनुपर्ने, प्रतियोगीले कवितासंगै रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर समेत पठाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले जानकारी दिनुभयो । कविता पठाउनका लागि janasahayog2050@gmail.com
प्रतियोगितामा प्राप्त कवितालाई विज्ञहरूको तीन चरणको मूल्याङ्कनबाट छनोट भएका उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचन पश्चात् पुरस्कृत गरिने छ ।
कविता इमेलमा पठाउन सकिने आयोजक समूहले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न छलाख खर्च हुने अनुमान गरिएको छ । उक्त रकम एसएलसी ब्याच २०५० बाटै व्यक्तिगत रूपमा उठाइने बताइएको छ ।
तरहरामा राष्ट्रिय कविता प्रतियोगिताको तयारी, पुरस्कार राशी ५१ हजार

































































































