बिर्तामोड ६ चैत । पत्रकारले राजनीतिक दलको प्रवक्ता हुनु भएन्, जनता र जनप्रतिनिधिलाई जोड्ने काम पनि मिडियाले गर्नुपर्छ–दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ बिषयक अन्तरसंवादमा प्रस्तुत अभिव्यक्ति हो यो ।’ उनले भनिन्, पत्रकारहरुले वायस हुनु नहुनेतर्फ सचेत गराउँदै ‘जिम्मेवारी पूरा गर्दैगर्दा खिचिएका फोटाहरुसम्म काटिन्छन् उनले थपिन्, ‘सरकारप्रति जनताको नैराष्यता बढाउने कुरामा सञ्चारकर्मीहरुको पनि भूमिका होइन, आफूपनि स्थापित हुनुस्, पालिकालाई पनि जोड्नुस् ।’ ‘दलको प्रवक्ता होइन पत्रकार भएर काम गर्नुस्, आफूपनि स्थापित हुनुस्, पालिकालाई पनि जोड्नुस्’–उपमेयर भट्टराईले भनिन् ।
कार्यक्रमका आफ्नो धारणा राख्ने अधिकांश जनप्रतिनिधिले पत्रकारको निष्पक्षबारे प्रश्न उठाएका थिए । पालिकाले गरेका राम्रा कामलाई समेत ओझेलमा पार्ने गरी पत्रकारहरुले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको उनीहरुकोे गुनासो थियो । सही र सत्य समाचार सम्प्रेषण गरी जनतालाई सुसुचित गराउन सुझाव दिएका जनप्रतिनिधिहरुले सञ्चार क्षेत्रको सवलीकरणमा समन्वय गर्न सकिने प्रतिवद्धता समेत जनाएका थिए ।

सञ्चार माध्यमले महिलालाई बेवास्ता गरेको झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जुदेवी थपलियाले गुनासो गरिन् । उपप्रमुखलाई हेला पत्रकारले हेलाँ गर्ने गरेको बताउँदै कार्यवाहक अध्यक्ष थपलियाले पत्रकारलाई नै प्रश्न गरिन्, ‘दोहोरो पद कसरी सम्हालेको छ भन्ने आजसम्म कसैले सोधेको छ ?’ नराम्रो मात्रै खोजेर हिड्नुभन्दा राम्रो कामको पनि खोजी गरेर लेख्न आग्रह गर्दै थपलियाले भनिन्, ‘नियम बाहिर गएर पत्रकारलाई पैसा बाँडेर जनताको बजेट कटौती गर्दैनौं, ‘उनले थपिन्, ‘मैले पनि नराम्रो काम गरेकी रछु भने सुध्रिन्छु, तपाई पत्रकारहरु पनि सुध्रिनु पर्छ ।’ थपलिया विगत लामो समयदेखि गाउँपालिकाको दोहोरो जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले उपप्रमुखहरु पनि सबै विषयमा विज्ञ नभएको स्विकार गर्दै नजानेर केही कमीकमजोरी भएको भए त्यसलाई सुधार गर्न तयार रहेको बताइन् । पत्रकारले पनि नियत राखेर पछि लाग्न नहुने धारणा राख्दै पछिल्लो समय घरैपिच्छेका पत्रकारको क्रियाकलापले परिवार र समाजमा पनि विचलन आएको बताउँदै भनिन्, ‘घरैपिच्छेका पत्रकार भएर मोवायल ठड्याएर घर विगार्ने काम पनि भएका छन् ।’
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पत्रकारको हक हितका लागि छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । समाचार भ्युजका लागि भन्दा बिषयवस्तुमा आधारित हुनुपर्नेमा जोड दिंदै पत्रकारमाथि नै प्रश्न उठाइन्, ‘संविधानमा नै व्यवस्था नभएको राजतन्त्रको बिषय सडकमा आइरहँदा सञ्चारकर्मीहरुको भूमिका के हुन्छ ?’ संविधान विरोधी गतिविधीको पत्रकारले डटेर खण्डन गर्नुपर्ने बताउँदै पत्रकारको संरक्षण र सवलीकरणमा पालिकाले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।
बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले कार्यविधी बनाएर स्थानीय सञ्चारमाध्यमको सम्बद्र्धनमा काम गरिरहेको बताए । पालिकाले सञ्चारक्षेत्रका बिनियोजित बजेटबारे जानकारी दिंदै सञ्चारकर्मीलाई कुनै त्रुटी भए त्यसलाई समेत औँल्याइदिन आग्रह गर्दै भने, ‘धेरै राम्रा कामहरु पनि भएका छन्, राम्रा कामलाई पनि प्राथमिकता दिनुहोस् ।’ उनले थपे, ‘कुनै त्रुटी भए त्यसलाई समेत औँल्याइदिनु होस्, सुझाव दिनुहोस् ।’
सञ्चारमाध्यममा नकारात्मक कुराले बढी स्थान पाउने गरेको भन्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सुझाव दिए । बुद्धशान्ति गाउँपालिकामा खोला र हात्तीको बढी समस्या भएपनि त्यसतर्फ कसैले कलम नचलाएको बताउँदै भने, ‘कति समय लगाएर, कति बजेट खर्चेर काम गरेका हुन्छन्, उनीहरुले थाहै नपाई दुई मिनेटमा जनप्रतिनिधीहरुको राजनीतिक भविष्य नै समाप्त गर्ने गरी पत्रकारले समाचार सम्प्रेषण हुन्छ ।’ उनले थपे, ‘पालिकाले गरेका राम्रा कामलाई स्वाहा पार्ने गरी समाचार बनाउनुको साटो सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्छु ।’
उता कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले स्थानीय जनप्रतिनिधीहरुलाई छोटे राजाको उपमा दिएर सञ्चारकर्मीहरुले होच्याउने गरेको भन्दै दुःख व्यक्त गरे । ‘छोटेराजाको उपाधी लोकतन्त्र माथिको प्रहार हो ।’ पत्रकार आचारसंहितालाई कडाइका साथ लागू गराउन नेपाल पत्रकार महासंघलाई उनले आग्रह गरे ।
कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले जनप्रतिनिधीहरुलाई केहि सञ्चारकर्मीले एकोहोरो खेदो गरेको स्मरण गर्दै भने, ‘राष्ट्रियस्तरको पत्रकार उहाँ अहिले रुँदै हिड्नु भएको छ ।’ उनले थपे, ‘पाप धुरीबाट कराउँछ ।’ आफूलाई सोध्न भन्दा आफूले गरेको कामको खोजी गर्न सुझाव दिंदै पोखरेलले भने, ‘मैले भन्दा त सबै राम्रो गरेको छु भन्छु, तर तपाईहरु आफैं खोज्नुस्, खोजी पत्रकारिता गर्नुस् ।’
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले पत्रकारिता राष्ट्रियता बलियो हुने खालको हुनुपर्नेमा जोड दिंदै भने, ‘जुनसुकै दलको राष्ट्रप्रमुख भएपनि राष्ट्रप्रमुखको नकारात्मक समाचारहरु बाहिर आउँदा त्यसले राष्ट्रियता कमजोर बनाउँछ, स्वाधिनतामा समेत खलल पुग्छ, उनले थपे, ‘राष्ट्रियता र स्वाधिनता बलियो बनाउने प्रकृतिको पत्रकारिता गर्नुपर्छ ।’
भद्रपुर नगर प्रमुख गणेश पोखरेलले विचार विहिन पत्रकारिता गर्नुपर्ने औँल्याए । आफ्नो विचार मिल्ने जनप्रतिनिधीलाई देवत्वकरण गर्ने र विचार नमिल्नेलाई खुइल्याउने गरेको उल्लेख गर्दै भने, ‘पत्रकारिता निष्पक्ष हुनुपर्छ ।’ भद्रपुरले सञ्चारमा २० लाख रुपैँया बजेट बिनियोजन गरिएको र प्रेस क्लबसँग समन्वय गरि काम गरिरहेको बताए ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले विचारविहिन पत्रकारिता भएमात्र निष्पक्ष हुनसक्नेमा जोड दिए । पालिकाले यस बर्षबाट उत्कृष्ट विकास पत्रकारिता पुरस्कार शुरुवात गर्न लागिएको जानकारी दिए ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पालिकाले सञ्चारमा ४० लाख बजेट बिनियोजन गरिएको जानकारी दिए । पालिकाले प्रकाशन गर्ने सूचना राष्ट्रिय सञ्चारमाध्यमलाई नै दिनुपर्ने भन्ने ऐन भएकाले चाहेर पनि स्थानीयमा दिन नसकिएको गुनासो गरे । उनले महासंघले यस्ता बाध्यकारी ऐन संसोधनका लागि पहल गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष माधव विद्रोहीले जनपप्रतिनिधीहरुले दिएको सुझाव मननयोग्य भएको भन्दै त्यस तर्फ महासंघले पहल गर्ने बताए । उनले सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको बिचमा जनप्रतिनिधीले फरक छुट्याउनुपर्ने बताउँदै मुलधारको सञ्चारमाध्यममा तल्लोस्तरका समाचार प्रकाशन नहुने धारणा राखे ।
कार्यक्रममा मेचीनगर र गौरीगञ्जबाहेक अन्य पालिकाका प्रमुख तथा उपप्रमुख र केहि पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा हस्ताक्षर गरी उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
झापा शाखाको समन्वयमा भएको कार्यक्रमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक सहयोग गरेको हो ।
पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ कोशीकी महासचिव हिमा चेम्जोङले गरेकी थिइन् ।



















