शनिश्चरे १३ मंसीर । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय इलामको लक्षित वर्ग कार्यक्रम अन्तरगत अर्जुनधारामा ३३ वटा घर निर्माण हुने भएको छ । अर्जुनधारा नगरपालिका क्षेत्रमा निर्माण हुने लक्षित वर्ग अन्तरगत शुक्रबार प्रदेश नं.–१ का सांसद बृखबहादुर प्रधानले भवनका शिलान्यास गर्दै घर निर्माण कार्यको शुभारम्भ गर्नुभयो।

प्रधानले नगरपालिका–८ का प्रज्वल साहको घरको शिलान्यास गर्नुभएको हो । तीन लाख २५ हजार पाँचसय रुपैयाको लागतमा १५/२२ चौडाई लम्बाई रहेको भुकम्प प्रतिरोधी घरको १० इन्च वाल र ५ फिट बरण्डा भएको २ कोठे घर निर्माण गरिने ठेकेदार मोहन हेमरमले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ को संघीय सरकारद्वारा विनियोजित बजेटबाट २८ वटा र प्रदेश सरकारबाट ५ वटासहित अर्जुनधारामा ३३ वटा घर निर्माण हुन लागेको प्रधानले जानकारी दिनुभयो ।
३३ वटै घर निर्माणका लागि एक करोड नौ लाख ७२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन भएको प्रधानले बताउनु भयो । उहाँका अनुसार नगरक्षेत्र अन्तरगत १ ,२ र १० नं. वडामा २/२ वटा, वडा नं. ३, ४, ५ र ९ मा ३/३ वटा, वडा नं.–७ र ११ मा ४/४ र वडा नं.–८ मा ७ वटा घर निर्माण हुने निश्चित भएको हो । शिलान्यास कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक दिलीप गुरुङ, स्थानीय कुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

































































































