HomeFeatured 2नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन सरोकारवालाको माग

नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन सरोकारवालाको माग

बिर्तामोड ११ माघ । नेपाली चिया निर्यात रोक्न विभिन्न झमेला अघि सादै आएको भारतले फेरि नयाँ व्यवस्था लागू गर्न लागेको छ । भारतले लागू गर्न लागेको व्यवस्थाले नेपालमा उत्पादित चियामा संकट पर्ने भन्दै चिया उत्पादकहरु अत्तालिएका छन् ।
नेपाली चियाको मुख्य बजार रहेको भारतको केन्द्र सरकारले त्यहाँ आयात हुने चियालाई कसरी अनिवार्य रूपमा अक्सनमा राख्न सकिन्छ भन्ने गृहकार्य सुरु गरेपछि नेपाली चियाको निर्यातमा संकट देखा पर्न लागेको हो ।
स्रोतका अनुसार नेपालमा उत्पादित चियालाई नै लक्षित गरी भारतले कडा निगरानी गर्न अनिवार्य अक्सनको प्रावधान ल्याउन खोजेको हो । भारतले सबै प्रकारका आयातित चिया अक्सनको प्रणालीबाटै भित्र्याउने गरी कानुन निर्माण गर्ने तयारी गरिरहेको बुझिएको छ । यसो भएमा अर्थोडक्स र सिटिसी दुबै प्रकारका चियाको निर्यातका लागि अक्सनकै प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
भारतमा भारतीय चिया लिलामी प्रणाली (अक्सन) मार्फतमात्र नेपाली चिया आयातको व्यवस्था लागू हुन लागेको विषयप्रति नेपालका चिया सरोकारवालाहरु चिन्तित बनेका छन् । चिया उत्पादनको अधिकांश हिस्सा ओगट्ने झापा र इलामका चिया सम्वद्ध सरोकारवालाहरुले शुक्रबार बिर्तामोडमा छलफल गरेका छन् । समस्याको दीगो समाधानका लागि उनीहरुले प्रधानमन्त्रीलाई समेत भेट गरी ध्यानाकर्षण गराउने तयारी थालेका छन् । काठमाडौंमै पुगेर प्रधानमन्त्रीसहित सम्वद्ध मन्त्रालयहरुमा चिया क्षेत्रका समग्र समस्याहरुको ठोस र दीगो समाधानका लागि निर्णायक पहल गर्ने तयारी उनीहरुको छ ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले भारतमा उक्त व्यवस्था लागू भए नेपाली चिया क्षेत्र नराम्ररी प्रभावित हुने भन्दै समयमै निकास निकाल्नु पर्नेमा जोड दिए ।
‘यो गर्न खोजेको भनेको भारतीय अक्सनमा नेपाली चियालाई अनिवार्य राख्नुपर्ने प्रावधान बनाउन खोजेको हो। यसले यो वा त्यो बहानामा नेपाली चियाको निर्यातलाई निरुत्साहित गर्ने नै हो’–अधिकारीले भने ‘यसको समाधानको लागि नेपालको खाध्य तथा गुण नियन्त्रण प्रयोगशालाको रिपोर्टले मान्यता पाउनु पर्ने बरु नेपाल सरकारले प्रमाणित गरेपछि मात्र भारत निर्यात गर्न सकिने नीति भारतीय पक्षले स्वीकार गर्नुपर्दछ । साथै दीर्घकालीन समाधानको लागि नेपालले आफ्नै अक्सन केन्द्र सन्चालन गर्नु उत्तम हुन्छ ।’
प्रादेशिक चिया समन्वय समितिका संयोजक तथा नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन माग गरेका छन् ।
नेपाली चिया रोक्न भारतले अन्तिम अस्त्र प्रयोग गर्न लागेको भन्दै पराजुलीले यदि भारतीय चिया लिलामी प्रणालीमार्फत नेपाली चिया विक्रीको व्यवस्था लागू भए नेपाली चिया उद्योग संकटमा पर्ने बताए । नेपाली चियाको मुख्य बजार भारत रहेकाले उस्ले नियतवश नेपाली चिया रोक्न लागेको उनको भनाइ छ ।
नेपाली चियाको समस्याको दीर्घकालिन समाधान खोज्नु पर्नेमा सूर्योदय चिया उत्पादक संघका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जोड दिए । केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्क तामाङले भारतले नेपाली चिया रोक्न पटक पटक विभिन्न अड्को थाप्दै आएको बताउदै नेपालमै अक्सन बजार, तेस्रो मुलुक निर्यात जस्ता विकल्पमा जानु पर्ने बताए । नेपालमा अक्सनका लागि पूर्वाधारसमेत बनेर अक्सनमा नजाँदाको कमजोरीको फाइदा भारतले उठाउन खोजेको सरोकारवालाहरुले बताए ।
श्रमिक नेताहरुले यसअघि श्रमिकसंगका सम्झौता कार्यान्वयनमा जोड दिदै नेपाली चिया बचाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनीहरुले चिया क्षेत्र बचाउनु पर्ने र सरकार गम्भीर हुनुपर्ने बताए । उत्पादक संघका अध्यक्ष पराजुलीले श्रमिकसंगका सम्झौता कार्यन्वयन गर्न सबैलाई आग्रह गर्दै छलफलबाटै निकास निकालेर अघि बढ्ने बताए ।
भारतले आफूले नेपालबाट आयात गर्ने चियामा अनिवार्य अक्सनको प्रणाली लगायो भने नेपालको समग्र चिया उद्योग संकटमा पर्ने नेपाली चिया उत्पादकको निष्कर्ष छ ।
नेपालका व्यवसायीले भारतमा अक्सनमा चिया विक्री गर्न सबैभन्दा पहिले आफ्नो चिया त्यहाँको अक्सनको बोर्डको गोदाममा लगेर राख्नुपर्छ । अक्सन बोर्डको चियाको गोदाम भारतको कोलकाता, सिलिगुडी र गुवाहटीमा छन् ।
अक्सन बोर्डमा चिया राखेपछि बोर्डको प्रयोगशालामा उक्त चियाको गुणस्तर परीक्षण गरिन्छ । यस बेला नेपालको गुणस्तर कार्यालयले दिएको प्रमाणपत्र निष्प्रभावी हुन्छ । अक्सन बोर्डले चियामा विषादी छ कि छैन, कुन गुणस्तरको हो आदि सबै परीक्षण गरेर रिपोर्ट दिन्छ । यो प्रक्रिया पूरा गर्न एक महिना लाग्छ ।
बोर्डले उक्त चियालाई परीक्षणमा पास गरेन भने नेपालका व्यवसायीले त्यसलाई फर्काएर नेपाल ल्याउन पाउने छैनन् । बोर्डले त्यस चियालाई अखाद्य ठहर गर्दै त्यहीँ नष्ट गरिदिन्छ । भारतीय प्रयोगशालामा नेपाली चिया पास हुनेमा नेपाली उत्पाादक विश्वस्त छैनन् । भारतको नियतमा शंका गर्दै उनीहरु भन्छन् –गुणस्तरीय भए पनि नेपाली चियालाई कुनै न कुनै खोट लगाएर त्यहाँ गुणस्तरहीन प्रमाणित गरिन्छ ।
बोर्डको परीक्षणमा नेपालको चिया पास भयो भने त्यहीँका ब्रोकरले क्रेता खोजिदिन्छन् र विक्री गर्नु पर्दछ ।
टेलिग्राफका अनुसार भारत सरकारले भनेको छ कि यो प्रस्तावको उद्देश्य उचित वितरण र भारतीय चिया उद्योगलाई सेफगार्ड प्रदान गर्नु हो । दार्जिलङिका चिया उद्योगले नेपालको गुणस्तरहीन चियाका कारण आफ्नो व्यवसायमा असर परिरहेको दाबी गरेका छन् । त्यहाँको केन्द्र सरकारले यसको समाधानका लागि नेपालको चिया अक्सनबाट विक्री गर्नु नै एक मात्र उपाय हो भन्ने प्रस्ताव गरेको छ ।
भारतीय चिया संघले पनि गत मंगलबार श्वेतपत्र जारी गर्दै केन्द्र सरकारको प्रस्तावलाई समर्थन जनाएको छ । उक्त संघले श्वेतपत्रमा तत्काल केन्द्र र पश्चिम बंगाल सरकारले नेपालको चियामा वित्तीय र गैरवित्तीय हस्तक्षेप गर्नुपर्ने माग गरेको छ ।
शुक्रबार बिर्तामोडमा भएको छलफलमा चिया उद्योगी तथा व्यवसायीहरु समिरकुमार पोखरेल, शिवकुमार गुप्ता, राजेन्द्रकुमार सिंह, डिल्लीराम श्रेष्ठ, गोपाल कट्टेल, महेश अर्याल, सुजन ढुंगेल, रोमन प्रसाईं, पुनम राई, ज्ञानी लिम्बू, श्रमिकहरुको तर्फबाट टे«ड युनियनका नेता सन्तकुमार राई, हेमराज खड्का, भुपाल सापकोटा, सीता सापकोटा लगायतले विभिन्न सुझाव राखेका थिए ।
छलफलको संयोजन राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड, संवाद समूह र प्रादेशिक चिया समन्वय समितिले गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन सरोकारवालाको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img