बिर्तामोड १० माघ । झापाको बिर्तामोडमा नवनिर्मित गायत्री माताको मन्दिर निमौण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भएसंगै मन्दिर सञ्चालनका लागि प्राण प्रतिष्ठा र समुद्घाटनको तयारीमा निर्माण समिति जुटेको छ ।
दुईकरोड ५० लाख बढीको लागतमा निर्माण सम्पन्न भएको मन्दिरमा यही माघ १७ गतेदेखि २१ गतेसम्म पाँचदिने अनुष्ठानका साथमा प्राण प्रतिष्ठा गर्ने तयारी गरेको मन्दिर निर्माण समितिका संयोजक रोनक बंशलले बताउनु भयो ।
माघ २१ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट प्राण प्रतिष्ठा गरिने कार्यक्रम अनुसार माघ १७ गते बालाजी मन्दिर परिषरबाट निशान यात्रा गरिने संयोजक बंशलले जानकारी दिनुभयो ।
माघ २० गते जगतगुरु अनन्त श्रीविभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन हुने अनुष्ठान अन्तरगत दैनिक साँझ भजन–किर्तन तथा प्रसाद वितरण कार्यक्रम तय गरिएको बताइएको छ । दैनिक सन्ध्याकालीन भजन किर्तनमा नेपाल र भारतका भजन गायक तथा कलाकारहरुको समेत प्रस्तुती रहने बिबेक अग्रवालले बताउनु भयो ।
१३ वर्ष अघि मन्दिर निर्माणका लागि प्राप्त ५ धुर जग्गा प्राप्त जग्गामा मन्दिर निर्माण गरेको समितिलाई निर्माण सम्पन्न गर्न कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाले समेत सहयोग गरेको बताइएको छ । निर्माणका लागि रोनकसहित बिबेक र मुकेश अग्रवालको प्रत्यक्ष भूमिका रहेको बताइएको छ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र गायत्री माताको पहिलो मन्दिर भएको बताइएको छ ।
बिर्तामोड ५ मा निर्मित गायत्री मन्दिरमा अनुष्ठानको तयारी, २१ गते प्राण प्रतिष्ठा

































































































