कानेपोखरी २१ पुस । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आजदेखि पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको छ ।
संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
उहाँले पुँजी अभावकै कारण हातमा सिप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताउनु भयो । तसर्थ पनि तालिम सहि तबरले इच्छाशक्ति लगाएर लिन सहभागिलाई आग्रह गर्नुभयो ।
तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागि छन् । सहभागिलाई जानुका देबी प्रधान र हृदय कुमारी संग्रौलाले प्रशिक्षण दिंने बताइएको छ।
यस अघि पनि संस्थाको शिक्षा उपसमितिको आयोजनामा इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाले यस अघि खुदुनाबारीमा कपुरधुप बात्ती निर्माण तालिम सम्पन्न गरिसकिएको संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान बिष्टले बताए ।
शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए ।
झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरु मार्फत शेयरसदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ । वित्तिय कारोबारसंगै संस्थाले कृषि, शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका आइटी सहायक बिजय पाण्डेले जानकारी दिए ।
सिम्रिकको सहयोगमा पाँचदिने श्रृङ्गार तालिम सुरु

































































































