बिर्तामोड २९ कात्तिक । झापाको बिर्तामोडमा बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । बिर्तामोडलाई पर्यटन नगरी बनाउँदै स्थानीय व्यापार र व्यवसायको प्रवर्दन गर्ने लगायतका उद्देश्य नेपाल तामाङ घेदुङ संघ बिर्तामोड र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा आयोजना हुन लागेको महोत्सव मंसिर १५ गतेसम्म सञ्चालन हुने आज आयोजत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तामाङ, संस्कृति अनुसारका सामाग्रीले सजाइने महोत्सवस्थलमा स्थानीय उत्पादनदेखि हार्डवेयरसम्मका सामग्रीको स्थल रहने महोत्सव आयोजक नेपाल तामाङ घेदुङ संघ बिर्तामोडका अध्यक्ष विजय लामाले जानकारी दिनुभयो ।
महोत्सवमा चलचित्र प्रदर्शनी, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शन, चलचित्रकर्मी सम्मान, चलचित्र अभियन कार्यशाला, नेपाल र भारतका चलचित्रकर्मी विच चलचित्रका विषयमा अन्तरसंवाद लगायतका कार्यक्रम रहेको नेपाल चलचित्रकर्मी संघ कोशीका अध्यक्ष केवल तामाङले बताउनु भयो ।
महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने महोत्सवमा भारतको सिक्किम राज्यको सांस्कृतिक विभागबाट कलाकारसहितको टोलीको अर्थपूर्ण सहभागिता रहने आयोजकको भनाई छ ।
५० देखि ६० लाखसम्मको कारोवार हुने अनुमान गरिएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
बिर्तामोड–५ मा सञ्चालन हुन लागेको महोत्सवस्थलमा भौतिक संरचना निर्माणको काम चलिरहेको छ ।
बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ हुँदै



















