भद्रपुर २९ कार्तिक । झापाको भद्रपुर ९ चन्द्रगढीमा अवस्थित जीवनज्योति आधारभुत विद्यालयमा दाताले नगद ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । विद्यालय विहिवार आयोजित संक्षिप्त कार्यक्रममा भद्रपुर ९ देवकोटा चोक स्थायी घर भई हाल अमेरिका निवासी डाक्टर पर्शुराम दाहालले अक्षयकोष स्थापना गर्न विद्यालयकी प्रधानाध्यापक निर्मला पौडेललाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
रकम प्रदान गर्दै दाहालले विद्यालयले अक्षयकोष स्थापना गरि उक्त रकमको व्याजबाट विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्नुपर्ने बताउनु भयो । प्रारम्भमा ५० हजार प्रदान गरिएको कोषमा भविष्यमा थप्दै जाने दाहालले प्रतिवद्धता समेत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले सामुदायिक विद्यालयहरू कठिन अवस्थामा रहेको उल्लेख गर्दै नगरपालिकाले सुधारका लागि नगरको शिक्षा विकासका क्षेत्रमा काम गर्न थप रकम विनियोजन गरेको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुतन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक गोपीकृष्ण न्यौपाने र स्वागत मन्तव्य प्रधानाध्यापक पौडेलले गर्नु भएको थियो । वडाध्यक्ष राम दाहाल लगायतका शिक्षक तथा विद्यार्थी अभिभावकको उपस्थिति थियो ।
जीवनज्योति विद्यालयमा अक्षयकोष स्थापना दाहालले दिए ५० हजार



















