फिदिम १२ असोज । पाँचथरका अलग अलग दुई स्थानमा गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन ।
अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका–१ साँगेबोट स्थित राजकुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका–१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै हाईड्रोपावरकै कर्मचारी फिदिम–१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दास, फिदिम–१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम–१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले बेपत्ताको खोज भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यसै गरी फिदिम नगरपालिका–४ चिसापानी स्थितमा फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम–१२ की २४ बर्षीया सपना शेर्पा र उनको ६ बर्षीया छोरी डोल्मा शेर्पा आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथीबाट झरेको पहिरोले किचेर दुबै जनाको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैरो पन्छाएर उद्दारको कार्य जारी रहेको छ ।
पाख्रीबास–५ गुराँसेमा गएको पहिरोमा परी २ को मृत्यु
उता धनकुटाको पाख्रीबास नगरपालिका–५ गुराँसे देवीथान गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । आज बिहानदेखिको अरिवल बर्षातका कारण पाख्रीबास–५ का सन्तोष तामाङको घरमा माथीबाट झरेको पहिरोमा परी सन्तोषकी ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया रामकुमारी तामाङको घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उद्दारका क्रममा आशा र रामकुमारी मृत फेला परेका थिए भने सोही घरमा छिमेकी २४ बर्षीया मिन माया तामाङ घाइते अवस्थामा फेला परेकी थिइन् । मिनमायाको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको बताइएको छ ।
छथरजोरपाटी गाउँपालिका–२ का चन्द्रबहादुर बाजिम्पाक मगरको घरमा माथीबाट झरेको पहिरोले घर पुरिंदा चन्द्रबहादुरकी २० बर्षीया छोरी सृजना बाजिम्पाक मगर घाइते भएकी छिन् । घाइते मगरको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको बताइएको छ । ।